विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्।
प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काका अनुसार मुख्यमन्त्री कार्कीले नेपालको संविधानबमोजिम प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्। उनका लागि आजको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी कार्यसूची राखिएको छ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको पछिल्लो सहमतिपछि प्रदेशको मन्त्रिपरिषद्मा नयाँ नियुक्ति, हेरफेर तथा कार्यविभाजनसमेत गरिएको छ।
यसअघि मुख्यमन्त्री कार्कीको नेतृत्वमा २०८१ साल वैशाख २७ गते कोशी प्रदेश मन्त्रिपरिषद् गठन भएको थियो।
कोशी प्रदेशसभामा हाल एमालेका ४० र नेकपाका १७ सांसद रहेका छन्। प्रदेश सरकारमा रहेको समीकरणका आधारमा मुख्यमन्त्री कार्कीले विश्वासको मत प्राप्त गर्ने अपेक्षा गरिएको छ।
विश्वासको मतसम्बन्धी प्रस्तावमाथि प्रदेशसभामा छलफलपछि मतदान हुनेछ। मतदानबाट मुख्यमन्त्री कार्कीले सरकार सञ्चालनका लागि आवश्यक संवैधानिक समर्थन कायम राखेको वा नराखेको टुंगो लाग्नेछ।