काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश सरकारमा सहभागी आफ्ना तीन मन्त्रीलाई पदमुक्त गर्न सिफारिस गरेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले निर्वाचन आयोग र बाग्मती प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै प्रदेश सरकारमा सहभागी मन्त्रीहरूलाई पदमुक्त गर्न सिफारिस गरेका हुन्।
पार्टीको केन्द्रीय निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको आरोपमा मन्त्रीहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङमाथि कारबाही प्रक्रिया अघि बढाइएको राप्रपाले जनाएको छ।
राप्रपाका अनुसार पार्टीले तीनै जनासँग स्पष्टीकरण मागेको थियो। तर उनीहरूले स्पष्टीकरणको जवाफ नदिएपछि पदमुक्तिका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको हो।
यसअघि राप्रपाका बाग्मती प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि पनि पार्टीले कारबाही गरिसकेको छ। प्रदेश सरकारमा सहभागी हुने विषयलाई लिएर राप्रपाभित्र देखिएको विवाद पछिल्लो समय थप चर्किएको छ।
यसैबीच बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। राप्रपाभित्रको विभाजन र कारबाहीका कारण मुख्यमन्त्री थापाले विश्वासको मत पाउने वा नपाउने विषयसमेत अन्योलमा परेको छ।
सरकार जोगाउन राप्रपाका दुई प्रदेशसभा सदस्यको मत निर्णायक हुने अवस्था रहेको बताइएको छ। राप्रपाका सांसदहरूको भूमिकाले मुख्यमन्त्री थापाको सरकारको भविष्य निर्धारण गर्ने देखिएको छ।
प्रदेश सरकारमा सहभागी हुने विषयमा पार्टीको निर्णय र प्रदेश सांसदहरूको भूमिकाबीच देखिएको मतभेदले राप्रपाको आन्तरिक विवादलाई सतहमा ल्याएको छ।