काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवासँग भेटवार्ताका लागि समय मागेका छन्। पार्टीभित्र देखिएको विवाद समाधान गर्ने उद्देश्यले थापाले देउवासँग भेट गर्न चाहेको कांग्रेस महामन्त्री प्रदीप पौडेलले बताएका छन्।
सभापति थापाले देउवाका स्वकीय सचिव भानु देउवालाई फोन गरी पूर्वसभापति देउवासँग भेट्ने समय मिलाइदिन आग्रह गरेको पौडेलले जानकारी दिए। तर देउवा पक्षबाट हालसम्म भेटका लागि कुनै जवाफ नआएको उनको भनाइ छ।
महामन्त्री पौडेलले भने, ‘उहाँले सार्वजनिक रूपमै पनि भनिसक्नुभएको छ। सचिवालयलाई फोन गरेर भेटको व्यवस्था मिलाइदिन आग्रह गर्नुभएको हो। उताबाटै कुनै जवाफ आएको छैन।’
देउवा हङकङबाट फर्किएको करिब दुई साता पुग्न लाग्दासमेत थापा र देउवाबीच भेटवार्ता हुन सकेको छैन। हङकङबाट फर्किएपछि देउवा चुनदेवीस्थित निवासमा बस्दै आएका छन्।
थापा विशेष महाधिवेशनबाट सभापति चयन भएपछि देउवाले त्यसलाई स्वीकार नगरेको कांग्रेसभित्रको विवाद कायमै छ। देउवा पक्षले थापाको नेतृत्व र विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै आएको छ।
महामन्त्री पौडेलका अनुसार पार्टी बैठकबाटै देउवाको स्वास्थ्य लाभको कामना गरिसकिएको छ। तर व्यक्तिगत रूपमा भेटवार्ता गरेर पार्टीभित्रको विवादबारे छलफल गर्ने प्रयाससमेत भइरहेको उनले बताए।
यसबीच देउवा आफ्ना निकट नेताहरूसँग नियमित भेटघाट गरिरहेका छन्। उनी निवास तथा चुनदेवीमा आफूनिकट नेताहरूसँग छलफल गर्दै आए पनि विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीसँग भेट गर्न भने अनिच्छुक देखिएको कांग्रेसका नेताहरू बताउँछन्।
भेटका लागि आग्रह गर्ने नेताहरूलाई देउवा पक्षले समय मिलाएर भेट्ने जवाफ दिँदै आएको बताइएको छ। तर सर्वोच्च अदालतमा विचाराधीन आधिकारिकतासम्बन्धी विवादको टुंगो नलागेसम्म देउवा थापासहित नयाँ नेतृत्वसँग औपचारिक भेट नगर्ने मनस्थितिमा रहेको नेताहरूको दाबी छ।
सभापति थापाले अघि सारेको महाधिवेशन कार्यतालिका रोक्न माग गर्दै देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ। यसले पनि कांग्रेसभित्रको विवाद तत्कालै समाधान हुने अवस्था नरहेको संकेत गरेको छ।
पार्टीको नेतृत्व विवादका बीच सभापति थापाले देउवासँग भेटका लागि गरेको पहललाई भने कांग्रेसभित्र संवादमार्फत विवाद समाधान गर्ने प्रयासका रूपमा हेरिएको छ।