गुण्डु भेलामा ओली–बादल पौडेलमाथि खनिए, एमाले पुनर्गठनको विषयमा चर्काचर्की

1.7k Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा भएको नेताहरूको छलफलमा पार्टी पुनर्गठन र निर्वाचन समीक्षाको विषयलाई लिएर चर्काचर्की भएको पाइएको छ। छलफलका क्रममा अध्यक्ष ओली र उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले अर्का उपाध्यक्ष विष्णु पौडेलप्रति आक्रोश व्यक्त गरेको सहभागी नेताहरूले बताएका छन्।

भदौ ४ गते राति ओली निवास गुण्डुमा भएको छलफलमा एमालेका पदाधिकारी तथा पूर्वपदाधिकारीहरू सहभागी थिए। बैठकमा एमाले पुनर्गठन र निर्वाचन समीक्षासम्बन्धी तयार पारिएको प्रतिवेदनमाथि छलफल भएको थियो।

बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष ओलीले पौडेललाई पार्टीविरुद्ध गतिविधि गरेको आरोप लगाउँदै ‘पुनर्गठन’को विषय किन उठाइएको भन्दै प्रश्न गरेका थिए। ओलीले नेतृत्वविरुद्ध बोल्ने तथा अरूलाई बोल्न उक्साउने गतिविधिले एमाले कमजोर हुने आशय व्यक्त गरेको ती नेताले बताए।

ओलीले देशी–विदेशी शक्तिको इसारामा पौडेल चलेको आरोपसमेत लगाएको सहभागी नेताको दाबी छ। पौडेलले एमाले कमजोर पार्ने गतिविधिलाई मलजल पुग्ने गरी काम गरेको आरोप ओलीले लगाएको बताइएको छ।

बैठकमा उपाध्यक्ष पौडेलप्रति ओली हप्काउने शैलीमा प्रस्तुत भएको सहभागी नेताहरूले बताएका छन्।

गुण्डुमा साँझ ७ बजेदेखि राति करिब ११ बजेसम्म चलेको छलफलमा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, सचिव भानुभक्त ढकाल तथा पूर्वउपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी थिए।

प्रतिवेदन सच्याउने विषयमा विवाद

बैठकमा पार्टी पुनर्गठन र निर्वाचन समीक्षासम्बन्धी प्रतिवेदन सच्याउने विषयमा समेत विवाद भएको बताइएको छ।

सहभागी नेताका अनुसार अध्यक्ष ओलीले प्रतिवेदन सच्याउन महासचिव पोखरेललाई भनेका थिए। तर पोखरेलले प्रतिवेदनमा कार्यकर्ताबाट आएका सुझाव समेटिएको भन्दै सच्याउन अस्वीकार गरेको बताइएको छ।

महासचिव पोखरेलले प्रतिवेदन सच्याउन अस्वीकार गरेपछि ओलीले बादललाई प्रतिवेदन सच्याएर पुनः ल्याउन निर्देशन दिएको बताइएको छ।

त्यसपछि बादलले पौडेलप्रति आक्रोश व्यक्त गरेको नेताहरूले बताएका छन्। बादलले पार्टी कमजोर पार्ने गरी बैठक राख्ने, नेतृत्वविरुद्ध बोल्ने र प्रतिवेदनमा त्यस्ता विषय समेट्ने काम भएको भन्दै पौडेलमाथि प्रश्न उठाएको बताइएको छ।

बादलले संसदमा आफूले बोलेको विषयमा पौडेलले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेको तथा च्यासलमा बैठक राखेको विषयसमेत छलफलमा उठाएको एक पदाधिकारीले बताएका छन्।

‘एमाले बलियो बनाउन पुनर्गठनको कुरा गरेको हुँ’

ओली र बादल दुवैबाट लगातार आलोचना भएपछि पौडेलले भने आफूले एमाले कमजोर बनाउन नभई बलियो बनाउन पुनर्गठनको विषय उठाएको जवाफ दिएको सहभागी नेताको भनाइ छ।

‘विगत कोट्याएर केही हुँदैन। एमाले बलियो बनाउन नै मैले पुनर्गठनको कुरा गरेको हुँ, प्रतिवेदनमा त्यहीअनुसार लेखिएको छ,’ पौडेलले बैठकमा भनेको ती नेताले बताएका छन्।

पार्टीभित्र नेतृत्व, पुनर्गठन र निर्वाचन समीक्षाका विषयमा मतभेद देखिएका बेला गुण्डुमा भएको यो छलफललाई एमालेभित्रको आन्तरिक विवादको पछिल्लो घटनाका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार