नेपालगञ्ज (बाँके)। भेरी अस्पताल, नेपालगञ्जमा आर्थिक वर्ष २०८२/८३ मा एचआइभी परीक्षण गरिएका मध्ये ८३ जनामा सङ्क्रमण पुष्टि भएको छ।
अस्पतालका अनुसार उक्त आर्थिक वर्षमा सात हजार ८०५ जनाको एचआइभी परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ८३ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको हो।
अस्पतालका एचआइभी फोकलपर्सन डा. सङ्केतकुमार रिसालले सङ्क्रमण पुष्टि भएका व्यक्तिलाई शीघ्र एआरटी (एन्टिरिट्रोभाइरल थेरापी) सेवा प्रदान गरिएको जानकारी दिनुभयो।
एचआइभी सङ्क्रमण पुष्टि भएपछि समयमै उपचार सुरु गर्दा सङ्क्रमित व्यक्तिको स्वास्थ्यमा सुधार ल्याउन तथा सङ्क्रमणको जोखिम घटाउन सहयोग पुग्ने भएकाले अस्पतालले परीक्षण र उपचार सेवालाई निरन्तरता दिएको जनाएको छ।
अस्पतालले एचआइभी सङ्क्रमितको पहिचानसँगै नियमित उपचार, सङ्क्रमण रोकथाम तथा आमाबाट शिशुमा एचआइभी सर्ने सम्भावना न्यूनीकरणलाई प्राथमिकतामा राखेर सेवा सञ्चालन गरिरहेको जनाएको छ।
अस्पतालले एचआइभी परीक्षण तथा उपचारका लागि आवश्यक परामर्श र सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।