बागमती सरकारको भविष्य आज तय हुँदै, थापालाई बहुमत जुटाउन सकस

1.1k Shares

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो १ बजे प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। विश्वासको मत लिन आवश्यक संख्या जुटाउन नसक्ने अवस्था देखिएपछि मुख्यमन्त्री थापामाथि राजनीतिक संकट गहिरिएको छ।

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा ६३ प्रदेश सभा सदस्यको समर्थनसहित थापा भदौ ४ गते मुख्यमन्त्री नियुक्त भएका थिए। तर राप्रपाले आफ्ना प्रदेश सभा सदस्य उद्धव थापालाई पार्टी सदस्य तथा प्रदेश सभा सदस्यबाट कारबाही गरेपछि र अन्य तीन सांसदलाई समेत कारबाहीको प्रक्रिया अघि बढाएपछि सरकारको पक्षमा रहेको अंकगणित कमजोर बनेको छ।

हाल मुख्यमन्त्री थापासँग नेकपा एमालेका २५ र नेपाली कम्युनिष्ट पार्टीका २६ गरी ५१ सांसदको मात्रै समर्थन देखिन्छ। राप्रपाले विश्वासको मतको पक्षमा मतदान नगर्न आफ्ना सांसदलाई ह्विप जारी गरिसकेको छ।

आज बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन्। त्यसपछि प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले छलफल गर्ने र मतदान हुने कार्यसूची छ।

प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ३६ सांसदलाई मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न पार्टीले ह्विप जारी गरेको छ। ११० सदस्यीय बागमती प्रदेश सभामा हाल १०४ सदस्य कायम छन्। मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न कम्तीमा ५३ मत आवश्यक पर्नेछ।

प्रदेश सभा सभामुखविहीन रहेकाले उपसभामुख अप्सरा चापागाईंले बैठकको अध्यक्षता गर्दै आएकी छन्। संविधानको धारा १८६ अनुसार बैठकको अध्यक्षता गर्ने उपसभामुखले मतदान गर्न नपाउने भएकाले मुख्यमन्त्रीका लागि आवश्यक बहुमत जुटाउन थप कठिन हुने देखिएको छ।

बागमती प्रदेश सभामा हाल नेपाली कांग्रेसका ३६, नेपाली कम्युनिष्ट पार्टीका २६, नेकपा एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।

एमालेले समर्थन फिर्ता लिएपछि हाम्रो नेपाली पार्टीबाट अघिल्लो मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारमा एक सदस्य मन्त्री बनेका थिए। तर अहिले सरकार गठनको खेलमा सहभागी नहुने संकेत गरेको हाम्रो नेपाली पार्टीको समर्थनसमेत मुख्यमन्त्री थापाले पाउने सम्भावना न्यून देखिएको छ।

त्यस्तै, सरकार गठनको प्रक्रियामा सहभागी नहुने बताउँदै आएको नेपाल मजदुर किसान पार्टीको तटस्थ भूमिकासमेत आजको मतदानमा महत्वपूर्ण बन्ने देखिएको छ।

राप्रपा र कांग्रेसको ह्विप, सभामुखको अनुपस्थिति तथा साना दलहरूको अनिश्चित भूमिकाका कारण मुख्यमन्त्री थापाका लागि आज विश्वासको मत प्राप्त गर्नु चुनौतीपूर्ण बनेको छ।

सम्बन्धित समाचार