काठमाडौं । काठमाडौं उपत्यकाबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडी स्थानीयवासीले शुक्रबार बिहान एक घण्टा रोकेका छन्। फोहोर वैज्ञानिक प्रविधिबाट व्यवस्थापन नगरिएको र विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन्।
सिसडोल–बञ्चरेडाँडा फोहोर व्यवस्थापन सरोकार केन्द्रका अध्यक्ष निरञ्जन सन्जेलका अनुसार स्थानीयले सरकारलाई आफ्ना माग सम्बोधन गर्न १५ दिनको अल्टिमेटम दिएका छन्। उक्त अवधिमा माग पूरा नभए बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न नदिने चेतावनी उनीहरूले दिएका छन्।
स्थानीयका अनुसार फोहोरबाट निस्कने लिच्चेड खोलामा मिसिन थालेको छ। कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन नगर्दा ल्यान्डफिल साइटमा समस्या बढ्दै गएको उनीहरूको गुनासो छ।
स्थानीयले अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रभावित क्षेत्रको जग्गा अधिग्रहण गर्नुपर्ने, लिच्चेडको उचित व्यवस्थापन गर्नुपर्ने तथा प्रभावित क्षेत्रका बासिन्दाका लागि स्वास्थ्य, शिक्षा र रोजगारीको विशेष व्यवस्था गर्नुपर्ने माग राखेका छन्।
काठमाडौं उपत्यकासहित २१ वटा स्थानीय तहको फोहोर सिसडोल हुँदै बञ्चरेडाँडा पुर्याउने गरिएको छ। २० वर्षका लागि निर्माण गरिएको भनिएको बञ्चरेडाँडा ल्यान्डफिल साइटमा चार वर्षमै फोहोरको चुली बनेको भन्दै स्थानीयले दीर्घकालीन समाधान खोज्न माग गर्दै आएका छन्।
स्थानीयवासीले फोहोरका कारण दुर्गन्ध फैलिएको, स्वास्थ्यमा असर परेको तथा कृषि र पशुपालनसमेत प्रभावित भएको गुनासो गरेका छन्। माग सम्बोधन नभए आगामी दिनमा आन्दोलन थप कडा बनाउने उनीहरूको चेतावनी छ।