काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यहरूका लागि आयोजना गरेको ‘नीति, संगठन र नेतृत्व’ सम्बन्धी दुईदिने कार्यशाला काठमाडौंमा सुरु गरेको छ।
‘रास्वपा कार्यशाला–नीति, संगठन र नेतृत्व, शृङ्खला–१’ नाम दिइएको कार्यशालामा पार्टीको नीति, संगठन सुदृढीकरण र नेतृत्व क्षमता विकासका विषयमा छलफल भइरहेको संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले जानकारी दिएका छन्।
कार्यशालाको पहिलो दिन ‘नेपालको चित्र, हामी कहाँ छौँ ?’ विषयमा अनिल चित्रकारले प्रस्तुति दिने कार्यक्रम छ। यस्तै, उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको प्रस्तावना, सामाजिक लोकतन्त्र र त्यसका आधारबारे प्रस्तुति दिनेछन्।
महामन्त्री विपिनकुमार आचार्यले पार्टीका आधारभूत मूल्य–मान्यता तथा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखाबारे जानकारी दिनेछन्। पूर्वसचिव सुरेन्द्र अर्यालले बजेट निर्माणको वैज्ञानिक प्रक्रियाबारे प्रस्तुति दिने कार्यक्रम छ। उपसभापति सोविता गौतमले पार्टी र सरकारबीचको अन्तरसम्बन्ध, समस्या तथा समाधानका उपायबारे धारणा राख्नेछिन्।
कार्यशालाको दोस्रो दिन निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टीको संगठनात्मक संरचना, त्यसको सुदृढीकरण र केन्द्रीय सदस्यहरूको भूमिकाबारे प्रस्तुति दिनेछन्। संगठन विभाग प्रमुख न्यौपानेले ‘मिडिया र सोसल मिडियाः कसरी प्रयोग गर्ने ?’ विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ। रास्वपाले पार्टीको संगठनलाई थप व्यवस्थित बनाउँदै नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले कार्यशाला आयोजना गरेको जनाएको छ।