भ्याली ब्वाइज होस्टल हत्या प्रकरण : फरार पटेल मकवानपुरबाट पक्राउ

1.2k Shares

काठमाडौं । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा युवकको हत्या आरोपमा फरार रहेका २० वर्षीय प्रमित पटेल पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको समन्वयमा मकवानपुरको भैंसेबाट पक्राउ गरिएको हो।

काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित होस्टलमा बस्दै आएका दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो।

घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। तर टाउको र घाँटीमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा होस्टलमै बस्ने बारा कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र प्रमित पटेल संलग्न थिए। यादवलाई प्रहरीले यसअघि नै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो।

घटनापछि फरार रहेका पटेललाई मकवानपुरको भैंसेबाट पक्राउ गरिएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काले पटेललाई पक्राउ गरी काठमाडौं ल्याइँदै गरेको जानकारी दिएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

 
 
 
सम्बन्धित समाचार