काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच शुक्रबार चुनदेवीमा भेटवार्ता भएको छ। करिब एक घण्टा चलेको भेटमा कांग्रेसभित्रको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता र आगामी पन्ध्रौँ महाधिवेशनबारे छलफल भएको बताइएको छ।
भेटकै दिन देउवा र तत्कालीन उपसभापति पूर्णबहादुर खड्का भने कांग्रेसको पन्ध्रौँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। महाधिवेशन रोक्ने विषयमा अदालत जानेबारे कोइरालाले भने आफूले अहिलेसम्म कुनै धारणा नबनाएको बताएका थिए।
‘अदालत जाने विषयमा मैले धारणा बनाइसकेको छैन। म हिजो पनि कांग्रेस एक भएर जाऊँ भन्ने मान्छे हो, आज पनि त्यही भन्छु,’ कोइरालाले भने, ‘कसरी हुन्छ समस्या समाधान गरेर जाऊँ। अदालतले विवाद सल्टाउनुअघि कांग्रेस एक भएर जाओस् भन्ने मेरो माग यथावत छ।’
भेटमा सभापति गगन थापासँग भइरहेको संवादबारे पनि कोइरालाले देउवालाई जानकारी गराएका थिए। कोइरालासँगको कुराकानीमा देउवाले आफू नेपाल फर्किएको एक साता बितिसक्दा पनि थापा पक्षबाट संवादको पहल नभएको गुनासो गरेका थिए।
देउवाले आफ्नो स्वास्थ्य अवस्थाबारे समेत थापा पक्षले चासो नदेखाएको गुनासो गरेका थिए। गत भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा जेन–जी आन्दोलनका क्रममा आफू कुटपिटमा परेको घटनापछि पनि गगनले कुनै प्रतिक्रिया नदिएको र साउन २८ गते नेपाल फर्किएपछि समेत स्वास्थ्य अवस्थाबारे सोधीखोजी नगरेको देउवाको भनाइ थियो।
देउवाले थापा पक्ष आफ्नै ढंगले अघि बढ्न खोजेको आरोपसमेत लगाएका थिए। ‘म नेपाल आएको एक साता बितिसकेको छ। अहिलेसम्म गगनहरू संवादका लागि तयार भएनन्। यति भएपछि उनीहरू एक्लै अगाडि बढ्न खोजिरहेका छन्,’ देउवाले भनेका थिए।
उनले आफूले मात्रै भेटका लागि आग्रह गर्नुपर्ने अवस्था नरहेको भन्दै पार्टीका नेताहरूबीच संवाद आवश्यक रहेको बताएका थिए। भेटमा पन्ध्रौँ महाधिवेशन रोक्न सर्वोच्च अदालत पुगेको विषयमा पनि छलफल भएको थियो।
कोइरालाले अदालतको निर्णय आउनुअघि नै कांग्रेसभित्रको विवाद समाधान गरेर पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने धारणा राखेका थिए। कोइरालाले अदालतको निर्णयपछि कसरी अघि बढ्ने भन्नेबारे आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन्।
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने देउवा र कोइरालाबीच कांग्रेसलाई एकताबद्ध बनाउने विषय तथा त्यसका सम्भावित विकल्पबारे विस्तृत छलफल भएको जानकारी दिएका छन्। शुक्रबारको भेटवार्ताले कांग्रेसभित्र महाधिवेशनको विषयमा बढेको विवाद समाधानका लागि शीर्ष नेताहरूबीच संवादको प्रयास भने जारी रहेको संकेत गरेको छ।