एनएचआरसीको सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

1.2k Shares

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त भएका छन्। नियुक्तिपछि उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

स्वास्थ्य अनुसन्धान, चिकित्सा सेवा र प्रशासनिक क्षेत्रमा लामो अनुभव भएका डा. जोशी यसअघि पनि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नेतृत्व तहमा रहेर काम गरिसकेका व्यक्ति हुन्।

डा. जोशीले सन् २००० मा युक्रेनस्थित ओडेसा स्टेट मेडिकल युनिभर्सिटीबाट एमबीबीएस अध्ययन पूरा गरेका थिए। त्यसपछि सन् २००९ मा नेशनल एकेडेमी अफ मेडिकल साइन्सेस (न्याम्स) बाट अर्थोपेडिक्स तथा ट्रमा विषयमा एमएस गरेका हुन्। उनले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालबाट आर्थ्रोप्लास्टी तथा आर्थ्रोस्कोपीमा फेलोसिपसमेत प्राप्त गरेका छन्।

जोशीले सन् २०२४ देखि २०२६ सम्म नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यकारी सदस्यसचिवका रूपमा जिम्मेवारी सम्हालेका थिए। यसअघि उनले राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टका रूपमा काम गरेका थिए।

त्यस्तै, उनी गेटा अस्पतालका संस्थापक निर्देशक तथा सेती प्रादेशिक अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जनसमेत भइसकेका छन्।

स्वास्थ्य अनुसन्धान र चिकित्सा सेवासँगै प्रशासनिक नेतृत्वमा समेत अनुभव हासिल गरेका जोशीको नियुक्तिले परिषद्को अनुसन्धान तथा संस्थागत कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार