भृकुटीमण्डपलाई व्यवस्थित र हरित केन्द्र बनाउने तयारी

1k Shares

काठमाडौं — राजधानीको प्रमुख सार्वजनिक स्थल भृकुटीमण्डपलाई थप व्यवस्थित र नागरिकमैत्री बनाउन सरकारले आवश्यक अध्ययन अघि बढाउने भएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले सम्बन्धित निकायलाई यसका लागि प्रक्रिया अघि बढाउन निर्देशन दिएकी हुन्।

भृकुटीमण्डपको स्थलगत निरीक्षण गर्दै मन्त्री बादीले त्यहाँ सञ्चालन भइरहेका विभिन्न गतिविधि, व्यापारिक क्षेत्र तथा भौतिक संरचनाको अवस्थाबारे जानकारी लिइन्। उनले खसी तथा तरकारी बजारदेखि गार्डेन हल, स्टल, प्रदर्शनी क्षेत्र, पार्किङ, खुला तथा हरित क्षेत्र, सार्वजनिक शौचालय र पैदलमार्गसम्मको निरीक्षण गरेकी थिइन्।

निरीक्षणका क्रममा भृकुटीमण्डपमा रहेका संरचनाको उपयोग र व्यवस्थापन, व्यापार तथा सेवा सञ्चालनबाट हुने आम्दानी तथा त्यसको लाभ राज्य र नागरिकले कसरी पाइरहेका छन् भन्ने विषयमा पनि सम्बन्धित अधिकारीसँग जानकारी लिइएको थियो।

मन्त्री बादीले राजधानीको केन्द्रमा रहेको भृकुटीमण्डपलाई अहिलेको स्वरूपमै सीमित राख्न नहुने बताउँदै उपलब्ध जमिन तथा संरचनाको प्रभावकारी उपयोग गर्नुपर्नेमा जोड दिइन्।

उनका अनुसार भृकुटीमण्डपलाई सुरक्षित, स्वच्छ, हरित, समावेशी र सर्वसाधारणका लागि सहज सार्वजनिक केन्द्रका रूपमा विकास गर्ने गरी सम्भाव्यता तथा आवश्यकताका आधारमा आगामी योजना तय गरिनेछ। मन्त्रीको निजी सचिवालयले निरीक्षणपछि आवश्यक अध्ययनका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको जनाएको छ।

सम्बन्धित समाचार