काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ। वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घण्टी घर’मा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो।
बैठकमा पार्टीको आगामी राजनीतिक तथा सांगठनिक गतिविधिसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने बताइएको छ। पार्टीका दस्तावेज, सांगठनिक व्यवस्थापन तथा विभिन्न तहमा हुने मनोनयन बैठकका प्रमुख कार्यसूचीमा छन्।
रास्वपाले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा–२०८३ अनुमोदन गर्ने विषय पनि बैठकमा अघि बढाउने भएको छ। साथै, निर्वाचित प्रतिनिधिलाई जनताबाट फिर्ता बोलाउन सकिने ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणबारे समेत छलफल हुनेछ।
त्यस्तै, केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुखको मनोनयनका विषयमा पनि निर्णय लिने तयारी छ। स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन तथा त्यसका सदस्य मनोनयनसम्बन्धी विषय पनि बैठकको कार्यसूचीमा राखिएको छ।