काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकालाई साथ नदिएको भन्दै आफ्ना सहयोगी राष्ट्रहरूप्रति आक्रोश व्यक्त गरेका छन्। इरान युद्ध लम्बिँदै जाँदा ट्रम्पको परराष्ट्र नीतिमा सहयोगी राष्ट्रसँगको सम्बन्धलाई लेनदेनका आधारमा हेर्ने प्रवृत्ति थप स्पष्ट भएको विश्लेषण गरिएको छ।
इरानविरुद्ध अमेरिकी दबाब अभियानमा साथ दिन अस्वीकार गर्ने वा तटस्थ बस्ने राष्ट्रप्रति ट्रम्पले कडा टिप्पणी गर्दै आएका छन्। दक्षिण कोरियाले इरानसम्बन्धी अमेरिकी प्रयासमा सहभागी हुन अस्वीकार गरेपछि ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्याससमेत घटाउने निर्णय गरेका छन्। यस कदमले अमेरिकी सुरक्षा प्रतिबद्धतामाथि उसका सहयोगी राष्ट्रहरूमा चिन्ता बढाएको छ।
ट्रम्पको असन्तुष्टि ओमानप्रति पनि बढेको छ। इरानसँग होर्मुज जलडमरूमध्य व्यवस्थापनसम्बन्धी सहकार्य अघि बढाएको भन्दै ट्रम्पले ओमानमाथि सैन्य कारबाहीको धम्की दिएका छन्। ओमान भने इरान र अमेरिकाबीच संवाद तथा मध्यस्थताको महत्त्वपूर्ण माध्यमका रूपमा रहँदै आएको छ।
यता, इरानले होर्मुज जलडमरूमध्यसम्बन्धी आफ्नो अडान कडा बनाएको छ। इरानले अमेरिकी नाकाबन्दी हटाउने, तेलमाथिका प्रतिबन्ध फुकुवा गर्ने र रोक्का राखिएका सम्पत्ति फुकुवा गर्नेलगायतका सर्त पूरा नभएसम्म जलडमरूमध्य खुला नगर्ने जनाएको छ।
यस घटनाक्रमले सैन्य शक्तिको प्रयोग मात्रबाट इरानलाई आफ्नो शर्तमा ल्याउन कठिन भइरहेको संकेत गरेको विश्लेषण छ। लामो समयदेखि जारी द्वन्द्वले अमेरिकी सहयोगी राष्ट्रहरूलाई समेत आफ्नै सुरक्षा र रणनीतिक हितबारे पुनर्विचार गर्न बाध्य बनाइरहेको देखिन्छ।
साउदी अरेबिया, टर्की र पाकिस्तानले हालै पारस्परिक रक्षा सम्झौता गर्नु पनि पश्चिम एसियाको सुरक्षा समीकरणमा भइरहेको परिवर्तनको संकेतका रूपमा हेरिएको छ।