सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले भोलि विश्वासको मत लिँदै

1.2k Shares

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता रहेका भट्ट साउन २९ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएपछि मंगलबार नेकपा संसदीय दलको बैठक बोलाएर उनले विश्वासको मत लिने निर्णय गरेका हुन्।

मुख्यमन्त्री भट्टले मंगलबार नै विश्वासको मत प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाउन सचिवालयलाई पत्राचार गरेका थिए। सोही अनुसार बुधबार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिएका छन्।

यसैबीच, सत्तारुढ नेकपाले आफ्ना प्रदेशसभा सदस्यहरूलाई मुख्यमन्त्री भट्टको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक हुन्छ। नेकपाका २२ र एमालेका ११ गरी सत्ता गठबन्धनसँग ३३ सांसद छन्।

मुख्यमन्त्री भट्टले विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारीसमेत गरेका छन्। हाल एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भइसकेका छन् भने थप मन्त्री तथा राज्यमन्त्री नियुक्त गर्ने तयारी छ।

सम्बन्धित समाचार