मधेशको अधिवेशन नसकिएसम्म बालेन पक्षले मनोनीत हुनेको नाम नदिने संकेत

1.1k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक भदौ ५ गते बस्दैछ । बैठकमा पदाधिकारी, सचिवालय सदस्य, विभागीय प्रमुख तथा स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य मनोनयनलगायतका विषयमा छलफल हुने कार्यसूची छ ।

चितवनमा सम्पन्न महाधिवेशनपछि गर्नुपर्ने मनोनयनको काम अझै हुन सकेको छैन । पार्टीले आगामी केन्द्रीय समिति बैठकमा मनोनयनको एजेन्डा राखे पनि प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन शाह पक्षले तत्काल आफ्ना तर्फबाट नाम नदिने संकेत गरेको छ ।

बालेन पक्षीय एक नेताका अनुसार रिक्त पदाधिकारी तथा केन्द्रीय सदस्यमा आफ्नो पक्षबाट नाम पठाउने विषयमा तत्काल अघि नबढ्ने छलफल भएको छ । मधेश प्रदेशको अधिवेशन सम्पन्न भएपछि मात्रै बालेन पक्षबाट मनोनीत हुने व्यक्तिहरूको नाम सभापति रवि लामिछानेलाई उपलब्ध गराउने तयारी रहेको ती नेताले बताएका छन् ।

रास्वपाले मधेश प्रदेशसहित त्यहाँका आठवटै जिल्लामा अधिवेशन गर्न बाँकी छ । मधेशको अधिवेशन स्थगित गरेरै पार्टीको केन्द्रीय महाधिवेशन गरिएको थियो । यही कारण मधेशको संगठनात्मक संरचना टुंगिएपछि मात्रै मनोनयन प्रक्रिया अघि बढाउनुपर्ने बालेन पक्षको धारणा देखिएको छ ।

पार्टी विधानअनुसार सभापतिले एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष, एक प्रवक्ता, तीन सहप्रवक्ता र ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्न सक्ने व्यवस्था छ ।

यसअघि महाधिवेशनबाट सभापतिमा रवि लामिछाने निर्वाचित भएका थिए भने बालेन शाह पार्टीको वरिष्ठ नेतृत्वमा छन् । मनोनयनमा देखिएको यो ढिलाइले रास्वपाभित्रको संगठनात्मक शक्ति सन्तुलन र आगामी नेतृत्व संरचनाबारे थप चासो बढाएको छ ।

सम्बन्धित समाचार