हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ वासुदेवमा खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने दुई बालिका बेपत्ता भएका छन् । खोलाले बगाएकी अर्की एक बालिका भने आफैं बाहिर निस्कन सफल भएकी छन् ।
प्रहरीका अनुसार मंगलबार साँझ निर्मल माध्यमिक विद्यालय बस्तिपुरबाट घर फर्किने क्रममा वासुदेवस्थित खहरे खोलामा लच्का तर्ने प्रयास गर्दा चार बालिकालाई खोलाले बगाएको हो ।
खोलाले बगाएकामध्ये हेटौंडा–१९ बस्तीपुरका दीप स्याङ्ताङकी ८ वर्षीया छोरी रोशनी स्याङ्ताङ करिब ५०० मिटर तल रुखको जरामा अड्किएको अवस्थामा फेला परेकी थिइन् । उनलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।
यस्तै, सोही ठाउँका टीकाराम भोलनकी ११ वर्षीया छोरी सुमित्रा भोलन र राजकुमार भोलनकी १२ वर्षीया छोरी विनीता भोलन बेपत्ता छन् ।
खोलाले बगाएकी सीताराम भोलनकी १३ वर्षीया छोरी सीमा भोलन भने आफैं खोलाबाट बाहिर निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
बेपत्ता सुमित्रा र विनीता भोलनको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरिएको छ । सुरक्षाकर्मीले खोलाको आसपासका क्षेत्रमा खोजी कार्य जारी राखेका छन् ।