जिम्मेवारी परिवर्तनमा पराजुलीको आपत्ति, ‘पार्टीसँग सल्लाह गरेर मात्रै जान्छु’

1.1k Shares

विराटनगर । कोशी प्रदेश सरकारमा मन्त्रालयको जिम्मेवारी हेरफेर भएपछि मन्त्री इन्द्रमणि पराजुली असन्तुष्ट बनेका छन् । मुख्यमन्त्री हिक्मत कार्कीले नेकपालाई सरकारमा सहभागी गराएपछि पराजुलीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

आफूसँग कुनै परामर्श नगरी जिम्मेवारी परिवर्तन गरिएको भन्दै पराजुलीले तत्काल स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हाल्न चासो देखाएका छैनन् । उनको स्थानमा गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गरिएको छ ।

नवनियुक्त मन्त्री शेर्पासहित जिम्मेवारी परिवर्तन भएका अन्य मन्त्रीहरूले सोमबार नै पदभार ग्रहण गरे पनि पराजुली भने मन्त्रालय पुगेका छैनन् । उनी शपथ ग्रहण समारोहमा समेत ढिला गरी सहभागी भएका थिए । पराजुलीसँगै आन्तरिक मामिला राज्यमन्त्री उमाकान्त गौतम पनि मन्त्रालय पुगेका छैनन् ।

पराजुलीले आफूलाई सरकारमा वरीयतामा सबैभन्दा तल राखिएको र मन्त्रालय परिवर्तन गर्नुअघि पार्टी तथा आफूसँग पर्याप्त छलफल नगरिएको भन्दै असन्तुष्टि जनाएका छन् । यद्यपि उनले मन्त्रालयको नयाँ कार्यालय र कार्यकक्ष पूर्ण रूपमा तयार नभएकाले पनि आफू तत्काल मन्त्रालय नगएको बताएका छन् ।

स्वास्थ्य मन्त्रालय केही समयअघि भाडाको घरमा सारिए पनि कार्यालय व्यवस्थापनको काम अझै पूरा भइनसकेको बताइएको छ ।

पराजुलीले पार्टीसँग छलफल गरेर मात्रै मन्त्रालय जाने स्पष्ट पारेका छन् । उनले भने, “प्रदेश सांसद र मन्त्री पार्टीले बनाएको हो । पार्टीसँग सल्लाह गरेर मात्रै मन्त्रालय जान्छु । व्यक्तिगत कुरा केही छैन । पार्टीले जा भने जाने हो, नजा भने नजाने हो । भोलिसम्ममा सबै कुरा टुंगिन्छ ।”

यसअघि मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाउने प्रयासमा पराजुली पनि सक्रिय रूपमा सहभागी भएको बताइन्छ । त्यसयता कार्की र पराजुलीबीच सम्बन्ध चिसिएको राजनीतिक वृत्तमा चर्चा हुँदै आएको छ । मन्त्रालय हेरफेरमा भएको पछिल्लो निर्णयलाई पनि सोही राजनीतिक पृष्ठभूमिसँग जोडेर हेरिएको छ ।

सम्बन्धित समाचार