बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन्।
प्रदेश प्रमुखको कार्यालयका अनुसार संविधानको धारा १६८(२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यले भदौ ४ गते बिहीबार अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्नुपर्नेछ।
विश्वासको मतका लागि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री बानियाँले सोमबार प्रदेशसभा बैठकमै राजीनामा घोषणा गरेका थिए। उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया अघि बढेको हो।
बागमती प्रदेशसभामा नयाँ सत्ता समीकरणका लागि नेकपा र एमालेबीच सहकार्यको तयारी भए पनि सरकार गठनका लागि आवश्यक अंकगणित अझै चुनौतीपूर्ण रहेको बताइएको छ।