संघीय संसद्का दुवै सदनको बैठक बस्दै, के–के छन् एजेन्डा ?

1.4k Shares

काठमाडौं । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक १ः१५ बजे सिंहदरबारमा बस्ने कार्यतालिका छ।

प्रतिनिधिसभाको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। साथै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ।

त्यसैगरी मन्त्री बादीले नै ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

राष्ट्रिय सभाको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यसरी आजको संसद् बैठकमा खानी तथा खनिज पदार्थ, बालबालिका, मानव बेचबिखन तथा ओसारपसार, राहदानी र सङ्क्रामक पशु रोग नियन्त्रणसम्बन्धी विधेयक मुख्य एजेन्डामा रहेका छन्।

सम्बन्धित समाचार