लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। नेपाली कांग्रेसले गत साउन १२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार आचार्यले विश्वासको मत लिन लागेका हुन्।
लुम्बिनी प्रदेश सभामा हाल ८३ जना सदस्य कायम छन्। बहुमतका लागि ४२ सांसदको समर्थन आवश्यक पर्छ। नेकपा एमालेका २९ र नेकपाका सभामुखसहित १३ सांसद छन्। सभामुखले मतदान गर्न नपाउने भएकाले सरकारलाई बहुमत पुर्याउन थप दलको समर्थन आवश्यक छ।
केन्द्रमा एमाले र नेकपाबीच भएको सत्ता समीकरणअनुसार लुम्बिनीमा एमाले नेतृत्वकै सरकारलाई निरन्तरता दिने सहमति भएको छ। सोही सहमतिअनुसार आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय भएको हो। राष्ट्रिय जनमोर्चा, लोसपा र जसपासमेत सरकारको पक्षमा रहने देखिएको छ।
मुख्यमन्त्री आचार्यले विश्वासको मत पाएपछि मात्रै सरकार विस्तार र मन्त्रालय बाँडफाँटको विषय टुंग्याउने तयारी गरिएको छ। लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ मन्त्रालय छन्। नेकपालाई कुन–कुन मन्त्रालय दिने भन्ने विषयमा भने अन्तिम सहमति जुट्न बाँकी रहेको जनाइएको छ