फुङ्लिङ बजारमा एकतर्फी यातायात, नियम उल्लङ्घन गरे कारबाही हुने

1k Shares

फुङलिङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू गरिने भएको छ।

नयाँ व्यवस्थाअनुसार तोक्मेतर्फ जाने सवारीसाधनले बुद्धचोक–तोक्मे हाट हुँदै बजारबाट बाहिरिनुपर्नेछ। त्यस्तै, तोक्मेबाट बजार प्रवेश गर्ने सवारीसाधन दोबाटो हुँदै प्रवेश गर्नुपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

दोबाटोबाट कोप्चे हुँदै वीरेन्द्रचोकतर्फ जान सकिने भए पनि वीरेन्द्रचोकबाट कोप्चे हुँदै पुनः दोबाटोतर्फ फर्किन भने पाइने छैन।

जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख सुवास काम्बाङका अनुसार बजारका सडक साँघुरा हुनु, सवारीसाधनको चाप बढ्नु र पर्याप्त पार्किङस्थलको अभावका कारण एकतर्फी यातायात प्रणाली लागू गर्न लागिएको हो। चाडपर्व, मेला तथा उत्सवका समयमा थपिने सवारी चापलाई समेत ध्यानमा राखेर नयाँ व्यवस्था गरिएको उहाँले बताउनुभयो।

ट्राफिक प्रहरीले नयाँ यातायात व्यवस्थाबारे चालकहरूलाई जानकारी गराउने काम सुरु गरेको छ। सोमबारदेखि एकतर्फी यातायातको नियम उल्लङ्घन गर्ने चालकलाई जरिवानासहित कारबाही गरिने चेतावनी प्रहरीले दिएको छ।

सम्बन्धित समाचार