चुनावी पराजयपछि पहिलोपटक झापा पुगे ओली, ‘मिसन पार्टी जागरण’ सुरु गर्दै

1.2k Shares

झापा । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि पहिलोपटक झापा र इलामका कार्यक्रममा सहभागी हुन गृहप्रदेश पुगेका छन्। ओली शनिबार झापाको चन्द्रगढी विमानस्थल हुँदै इलामको फिक्कल पुगेका हुन्।

इलामको फिक्कलमा आयोजना हुने लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ केन्द्रीय कमिटीको कार्यक्रममा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। कार्यक्रममा देशभरबाट महासङ्घका केन्द्रीय सदस्यसँगै इलाममा रहेका एमाले नेता तथा कार्यकर्ताको सहभागिता रहने जनाइएको छ।

ओली शनिबार इलाममै बस्ने कार्यक्रम छ। इलाम बसाइका क्रममा उनले इलाम, पाँचथर र ताप्लेजुङका अगुवा कार्यकर्तासँग भेटघाट गर्नेछन्। त्यस्तै स्थानीय व्यापारी तथा बुद्धिजीवीसँग पनि भेट गर्ने कार्यक्रम तय भएको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिएका छन्।

आइतबार भने ओली झापा फर्किएर एमालेले आयोजना गर्ने ‘मिसन जनजागरण अभियान’ शुभारम्भ गर्ने कार्यक्रम छ। एमालेले आगामी स्थानीय तह तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै यो अभियान सुरु गर्न लागेको हो।

गत फागुनमा सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको कमजोर परिणामपछि जनतासँगको सम्बन्ध थप सुदृढ गर्ने तथा पार्टी संगठनलाई चलायमान बनाउने उद्देश्यले अभियान अघि बढाउन लागिएको एमालेले जनाएको छ।

अभियान झापाबाट सुरु भएर देशभरका ७५३ वटै स्थानीय तहका वडा तहसम्म सञ्चालन गर्ने तयारी छ। यसमार्फत पार्टी संगठनलाई स्थानीय तहसम्म थप सक्रिय बनाउने र जनतासँग प्रत्यक्ष संवाद बढाउने एमालेको योजना रहेको बताइएको छ।

चुनावपछि पहिलोपटक झापा–इलाम पुगेका ओलीको यस भ्रमणलाई एमालेभित्र संगठन सुदृढीकरण र आगामी निर्वाचनको तयारीसँग जोडेर हेरिएको छ।

सम्बन्धित समाचार