कांग्रेस इतर समूहको भेलामा राजनीतिक र आर्थिक प्रतिवेदन धमाधम पेश

1.1k Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विभिन्न प्रतिवेदन तथा प्रस्ताव पेश गर्ने क्रम जारी छ। भेलामा समूहको आगामी राजनीतिक दिशा, संगठनात्मक अवस्था, आर्थिक गतिविधि तथा पार्टीको भावी रणनीतिबारे छलफल भइरहेको छ।

भेलाका क्रममा राजनीतिक र आर्थिक प्रतिवेदनसहित विभिन्न विषयमा तयार पारिएका दस्तावेज प्रस्तुत भइरहेका छन्। संस्थापनइतर समूहले यसअघि नै राजनीतिक प्रस्ताव, संगठनात्मक प्रस्ताव, विधान संशोधन मस्यौदा तथा आर्थिक नीतिसम्बन्धी विषयमा तयारीका लागि छुट्टाछुट्टै समिति गठन गरेको थियो।

समूहले राष्ट्रिय भेलालाई पार्टीभित्र वैचारिक बहस, संगठन सुदृढीकरण र आगामी महाधिवेशनका लागि साझा धारणा निर्माण गर्ने अवसरका रूपमा लिएको जनाएको छ। भेलाबाट कांग्रेसको वर्तमान अवस्था, नेतृत्व तथा संगठन सञ्चालनका विषयमा समेत ठोस धारणा बनाउने तयारी गरिएको छ।

संस्थापनइतर समूहको भेलालाई आगामी महाधिवेशनअघि शक्ति प्रदर्शनका रूपमा समेत हेरिएको छ। यसअघि समूहले ५५१ सदस्यीय मूल आयोजक समितिसहित विभिन्न विषयगत समिति गठन गरी तयारी अघि बढाएको थियो।

भेलामा प्रस्तुत प्रतिवेदनमाथि सहभागी नेताहरूले धारणा राख्ने र आवश्यक सुझावसहित निष्कर्ष निकाल्ने तयारी गरिएको छ। समूहका नेताहरूले भने भेला पार्टी विभाजन वा गुटगत विवाद बढाउने उद्देश्यले नभई कांग्रेसलाई थप एकताबद्ध र सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको बताउँदै आएका छन्।

सम्बन्धित समाचार