प्यूठानमा भेटिएका पाँचै शवको सनाखत, रोल्पा पहिरोमा बगेका पुष्टि

1.1k Shares

प्यूठान । प्यूठानका विभिन्न स्थानमा माडी र लुङ्ग्री खोलाको किनारमा भेटिएका पाँचवटै शवको सनाखत भएको छ। ती शव रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा गएको पहिरोले बगाएर ल्याएका व्यक्तिको रहेको पुष्टि भएको हो।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार सनाखत हुनेमा थबाङ गाउँपालिका–५ कोटलबारा निवासी ७ वर्षीय अशोक पुन मगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीया मनि पुन मगर, ३४ वर्षीया विष्णु पुन र ८० वर्षीय बलबहादुर पुन मगर रहेका छन्। उनीहरूको शव आफन्तले पहिचान गरेका हुन्।

बिहीबार बिहान स्वर्गद्वारी नगरपालिका–९ जुडापाटा, वडा नम्बर ३ किमिचौर र वडा नम्बर ४ गोठीबाङस्थित माडी खोलाको किनारमा तीनवटा शव फेला परेका थिए।

त्यसपछि स्वर्गद्वारी नगरपालिका–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा एक तथा माण्डवी गाउँपालिका–५ अर्दुसस्थित माडी खोलाको किनारमा थप एक शव फेला परेको प्रहरीले जनाएको छ।

पाँचै जनाको शव प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा राखिएको छ। पोस्टमार्टमपछि शव आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ। रोल्पाको थबाङ–५ कोटलबारामा गएको पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार