काठमाडौं। डानियल आर्सिलाले दुई गोल गरेपछि क्लब लियोनले इन्टर मियामीलाई ३–२ गोलले पराजित गर्दै लिग्स कपको नकआउट चरणमा स्थान बनाएको छ। अर्जेन्टिनाका स्टार लिओनल मेसी आफ्ना पिता होर्खे मेसीको निधनपछि पहिलोपटक मैदानमा फर्किएको खेलमा मियामी पराजित भएको हो।
मियामीको घरेलु मैदानमा भएको खेलमा मेसी दोस्रो हाफको सुरुवातमै मैदान प्रवेश गरेका थिए। मैदान प्रवेश गर्दा समर्थकहरूले उनलाई ताली बजाएर स्वागत गरेका थिए। गत शनिबार ६८ वर्षको उमेरमा पिता होर्खे मेसीको निधन भएपछि मेसीले पहिलोपटक खेल खेलेका हुन्। खेलअघि उनले सामाजिक सञ्जालमार्फत आफ्ना बुबालाई भावुक श्रद्धाञ्जली दिएका थिए।
होर्खेले मेसीको फुटबल करियरमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै लामो समयसम्म उनका एजेन्ट र व्यावसायिक मामिला व्यवस्थापकका रूपमा काम गरेका थिए। पिताको निधनपछि अर्जेन्टिना पुगेका मेसीले यसअघि मोन्टेरेविरुद्धको खेल गुमाएका थिए। लियोनविरुद्ध भने उनी बेन्चमा रहेका थिए र दोस्रो हाफ सुरु हुँदा डानियल पिन्टरको स्थानमा मैदान प्रवेश गरे।
खेलको पहिलो हाफमा इन्टर मियामीले ४२औँ मिनेटमा डानियल पिन्टरको गोलमार्फत अग्रता लिएको थियो। तर दोस्रो हाफमा लियोनले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्यो। ५०औँ मिनेटमा डानियल आर्सिलाले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि जुआन पाब्लो डोमिङ्गेजले लियोनका लागि अर्को गोल गरे भने आर्सिलाले ८३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–२ को निर्णायक अग्रता दिलाए।
इन्टर मियामीका लागि यानिक ब्राइटले एक गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। मियामीले लगातार दोस्रो खेलमा दोस्रो हाफमा अग्रता जोगाउन नसकेको हो।
सन् २०२३ मा लिग्स कपको उपाधि जितेको इन्टर मियामी गत वर्ष फाइनलसम्म पुगेको थियो। तर यसपटक भने टोली प्रतियोगिताबाट बाहिरिएको छ। लगातार दुई खेल जितेको लियोन लिगा एमएक्सको तालिकामा शीर्ष स्थानमा पुगेको छ।