रुकुमपूर्व । रुकुमपूर्वमा बुधबार साँझ परेको भारी वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । भूमे गाउँपालिका–४ स्थित काडाबगर र धौलापहिरोमा लेदोसहितको भल तथा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि काठमाडौं हुँदै रुकुमपूर्व, रुकुमपश्चिम तथा डोल्पातर्फ जाने यात्रुवाहक बस र अन्य सवारीसाधन बाटोमै रोकिएका छन् । सडकमा पहिरो खसेपछि यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।
अवरुद्ध सडक खुलाउन डोजर तथा अन्य उपकरण परिचालन गरी काम भइरहेको छ । तर, लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन कठिनाइ भइरहेको रुकुमपूर्वकी प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिइन् ।
उनका अनुसार सडक खुलाउन सिस्ने र भूमे गाउँपालिकाका जेसीबीसमेत परिचालन गरिएको छ । पहिरो ठूलो हुनुका साथै सडकसमेत क्षतिग्रस्त भएकाले तत्कालै पूर्ण रूपमा सडक सञ्चालनमा ल्याउन समय लाग्न सक्ने उनले बताइन् ।
वर्षायाममा रुकुमपूर्वका विभिन्न सडकखण्डमा पहिरोका कारण आवागमन प्रभावित हुने गरेको छ । यसअघि पनि मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्लाका विभिन्न स्थानमा पहिरो खस्दा लामो दूरीका सवारीसाधन तथा यात्रु अलपत्र पर्ने गरेका थिए ।