काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाको ऊर्जा, सिर्जनशीलता र क्षमतालाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्नुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना दिँदै प्रचण्डले नेपालको राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनमा युवाको संघर्ष, साहस र योगदान महत्वपूर्ण रहँदै आएको उल्लेख गरेका छन् ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय, समानता, सुशासन र समृद्धिको आधार निर्माणमा युवाको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका छन् ।
प्रचण्डले युवालाई शिक्षा, सीप तथा क्षमता विकासका अवसर उपलब्ध गराउँदै रोजगारीको पर्याप्त व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।
‘युवालाई शिक्षा, सीप, क्षमता विकास र रोजगारीका पर्याप्त अवसर प्रदान गर्दै उनीहरूको ऊर्जा, सिर्जनशीलता र क्षमतालाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गरौँ,’ उनले भनेका छन् ।
उनले देशको परिवर्तनमा महत्वपूर्ण योगदान दिएका युवाको क्षमता स्वदेशमै उपयोग हुने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । साथै, युवालाई राष्ट्र निर्माणको मूलधारमा जोडेर समृद्ध नेपाल निर्माणको अभियान अघि बढाउनुपर्ने बताएका छन् ।