सरकारी कागजात डिजिटल अभिलेखमा सुरक्षित राख्नुपर्छ : अर्थमन्त्री वाग्ले

1.6k Shares

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र ‘डिजिटलाइजेसन’ गरी सुरक्षित राख्नुपर्नेमा जोड दिनुभएको छ।

प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकमा गत वर्ष भदौ २३ र २४ गते जलेका सरकारी स्रेस्ताका कारण १७९ कार्यालयको लेखापरीक्षण हुन नसकेको विषयमा छलफल भएको थियो। सो क्रममा अर्थमन्त्री वाग्लेले सरकारी कागजातलाई डिजिटल प्रविधिमार्फत सुरक्षित राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

उहाँले २०७२ सालको भूकम्पका बेला सरकारी लगानीमा सुरक्षित राखिएका अभिलेखको अनुभव सुनाउँदै सरकारी कागजातको डिजिटल अभिलेख व्यवस्थापनतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

गत वर्ष भदौ २३ र २४ गतेको काबुबाहिरको परिस्थितिका क्रममा राजस्व तथा कोष तथा लेखा नियन्त्रण कार्यालयअन्तर्गतका प्रणाली भने सुरक्षित रहेको जानकारी पनि मन्त्री वाग्लेले दिनुभयो।

उक्त घटनाका क्रममा सरकारी कार्यालयहरूमा आगलागी हुँदा करिब डेढ खर्ब रुपैयाँ बराबरका सरकारी स्रेस्ता जलेको र त्यसका कारण महालेखापरीक्षकको कार्यालयले सम्बन्धित १७९ कार्यालयको लेखापरीक्षण गर्न नसकेको बैठकमा जानकारी दिइएको थियो।

मन्त्री वाग्लेले उक्त घटना काबुबाहिरको परिस्थितिका कारण भएको दुर्घटना भएकाले विद्यमान कानुनी व्यवस्थाअनुसार नै यसको निरूपण गर्नुपर्ने बताउनुभयो।

समितिले स्थलगत अध्ययन गरी सम्बन्धित कार्यालयमा अनियमितता भएको विषय बाहिर ल्याउन सक्ने उहाँले बताउनुभयो। समितिले दिएको मार्गनिर्देशनअनुसार सरकारले काम गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो।

“यदि समितिलाई काबुबाहिरको परिस्थिति होइन भन्ने लाग्छ भने ऐन संशोधन गरौँ, समस्याको प्रकृतिका बारेमा सरकार र प्रतिपक्षका बीच कुनै फरक मत छैन,” मन्त्री वाग्लेले भन्नुभयो।

सरकारी अभिलेखलाई सुरक्षित राख्न डिजिटल प्रणालीको विस्तारसँगै अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित बनाउनुपर्नेमा बैठकमा जोड दिइएको थियो।

सम्बन्धित समाचार