कांग्रेस महाधिवेशनका गतिविधि रोक्न शशांक कोइरालाको माग, केन्द्रीय कार्यालयलाई पत्र

1.6k Shares

काठमाडौं। नेपाली कांग्रेस इतर समूहले आयोजना गर्ने राष्ट्रिय भेलाका संयोजक डा. शशांक कोइरालाले पार्टीको १५औँ महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि तत्काल रोक्न माग गर्दै पार्टी केन्द्रीय कार्यालयलाई पत्र पठाएका छन्।

कोइरालाले पार्टीको आगामी १५औँ महाधिवेशन वा विशेष महाधिवेशनसँग सम्बन्धित कुनै पनि सांगठनिक, प्राविधिक तथा नीतिगत कार्यतालिका तत्कालका लागि स्थगित गर्न माग गरेका हुन्।

उनले सर्वोच्च अदालतले नेपाली कांग्रेसको वैधानिकता तथा तत्कालीन नेतृत्वसम्बन्धी विवादमा यसअघि भएको फैसलालाई पुनरावलोकन गर्ने अनुमति दिएको विषयलाई आधार बनाएका छन्।

पत्रमा कोइरालाले सर्वोच्च अदालतले विवादित फैसलामा गम्भीर कानुनी त्रुटि रहेको औँल्याउँदै मुद्दालाई सुरुदेखि नै पुनः पूर्ण रूपमा निरूपण गर्ने गरी निस्सा प्रदान गरेको उल्लेख गरेका छन्। यससँगै कांग्रेसको वैधानिकता र तत्कालीन नेतृत्वको कानुनी हैसियत पुनः न्यायिक पुनरावलोकनको अवस्थामा पुगेको उनको दाबी छ।

कोइरालाले अदालतको अन्तिम फैसला नआएसम्म पार्टीको तर्फबाट दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत, राजनीतिक, सांगठनिक तथा आर्थिक निर्णय नगर्नसमेत आग्रह गरेका छन्।

उनले महाधिवेशन वा विशेष महाधिवेशनका तयारीसँग सम्बन्धित गतिविधिलाई समेत तत्काल स्थगित गरी अदालतको अन्तिम निर्णय पर्खनुपर्ने बताएका छन्।

कोइरालाले उक्त पत्रको बोधार्थ निर्वाचन आयोगलाई समेत पठाएका छन्। पत्रमार्फत उनले कांग्रेसभित्रको कानुनी तथा नीतिगत संक्रमणकालीन अवस्थाबारे निर्वाचन आयोगलाई जानकारी गराएका हुन्।

अदालतमा विचाराधीन मुद्दाको अन्तिम परिणामलाई असर पार्ने गरी कुनै पनि गतिविधि अघि नबढाउन उनले सम्बन्धित पक्षलाई आग्रह गरेका छन्। अन्यथा अदालतको अवहेलना वा कानुनी प्रतिकूलता सिर्जना भए त्यसको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्ने चेतावनीसमेत पत्रमा दिइएको छ।

कांग्रेस इतर समूहले यही साउन २९ गते राष्ट्रिय भेला आयोजना गर्दैछ। उक्त भेलाको संयोजकका रूपमा डा. शशांक कोइराला रहेका छन्। sasankacongress-1786437756-1786440324.jpgsasankacongress1-1786437756-1786440324.jpg

सम्बन्धित समाचार