काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच भेटवार्ता भएको छ।
राजदूत अन्स्र्टले सोमबार मन्त्रालयमा मन्त्री बादीसँग शिष्टाचार भेट गर्नुभएको हो। भेटमा नेपाल–अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउने विषयमा छलफल भएको थियो।
भेटका क्रममा महिला सशक्तीकरण, बाल अधिकार तथा संरक्षण, अपाङ्गता समावेशीकरण, सामाजिक सुरक्षा, हेरचाह अर्थतन्त्र (केयर इकोनोमी), मानव संसाधन विकास तथा नीतिगत अनुभव आदानप्रदानलगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
मन्त्री बादीले नेपाल र अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै आगामी दिनमा आपसी सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो।
उहाँले शिक्षा, मानव विकास, सुशासन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका क्षेत्रमा अष्ट्रेलियाले नेपाललाई गर्दै आएको विकास सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो।
त्यसैगरी, अष्ट्रेलियाको छात्रवृत्ति कार्यक्रममार्फत नेपाली विद्यार्थी, अनुसन्धानकर्ता, विभिन्न क्षेत्रका पेसाकर्मी तथा सरकारी कर्मचारीको ज्ञान, सीप र व्यावसायिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुगेको मन्त्री बादीले बताउनुभयो। यसबाट नीति निर्माण, कार्यान्वयन तथा सार्वजनिक सेवा प्रवाहमा समेत सकारात्मक प्रभाव परेको उहाँको भनाइ थियो।
भेटमा सामाजिक सुरक्षा र हेरचाह अर्थतन्त्रबीचको अन्तरसम्बन्धबारे समेत छलफल भएको थियो। मन्त्री बादीले महिलाले घरायसी तथा हेरचाहका क्षेत्रमा गर्दै आएको योगदानलाई आर्थिक रूपमा पहिचान तथा मूल्याङ्कन गर्न आवश्यक रहेको बताउनुभयो।
उहाँले आगामी दिनमा नेपाल–अष्ट्रेलिया सम्बन्धलाई विकास सहयोगमा मात्र सीमित नराखी प्रविधि तथा नीतिगत अनुभव हस्तान्तरण, संस्थागत क्षमता विकास र जनस्तरको सम्बन्ध विस्तारसहितको पारस्परिक साझेदारीका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
भेटका क्रममा राजदूत अन्स्र्टले नेपाल–अष्ट्रेलियाबीचको विद्यमान सहकार्यको महत्व उल्लेख गर्दै आपसी हित र प्राथमिकताका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउँदै लैजान सकारात्मक धारणा व्यक्त गर्नुभएको थियो।