इरानी क्षेप्यास्त्रको जोखिमपछि ट्रम्पलाई गोप्य रूपमा अर्को विमानमा सारिएको खुलासा

20.7k Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्भावित इरानी क्षेप्यास्त्र आक्रमणको जोखिमका कारण टर्कीबाट फर्किने क्रममा गोप्य रूपमा अर्को सैन्य विमानमा सारिएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

गत महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट अमेरिका फर्किने क्रममा ट्रम्पलाई विमान परिवर्तन गराइएको बताइएको हो। टेलिभिजन क्यामेराले देख्ने गरी ट्रम्प ‘एयर फोर्स वन’ मा चढे पनि त्यसपछि उनलाई विमानस्थलको क्याटरिङ सेवा दिने ट्रकमार्फत गोप्य रूपमा अर्को विमानमा लगिएको रिपोर्टमा उल्लेख छ।

वासिङ्टन पोस्टका अनुसार ट्रम्पलाई सानो सी–३२ए सैन्य विमानमा सारिएको थियो। उक्त विमान परिमार्जित बोइङ ७५७ हो, जुन सामान्यतया अमेरिकी उपराष्ट्रपतिले प्रयोग गर्ने गर्छन्।

विमानमा रहेका पत्रकार तथा ह्वाइट हाउसका केही कर्मचारीलाई समेत राष्ट्रपतिले विमान परिवर्तन गरेको जानकारी नदिइएको बताइएको छ।

सीबीएस न्युजसँग अमेरिकी अधिकारीहरूले इरानबाट राष्ट्रपतिको विमानमाथि क्षेप्यास्त्र प्रहार हुन सक्ने विश्वसनीय खतरा पहिचान भएको बताएका छन्। यद्यपि, ह्वाइट हाउसले ट्रम्पको गोप्य रूपमा विमान परिवर्तन गरिएको विषयमा औपचारिक पुष्टि गरेको छैन।

यसअघि अंकारामा भएको नेटो सम्मेलनका क्रममा ट्रम्पले आफू इरानको ‘नम्बर एक टारगेट’ भएको दाबी गरेका थिए। वासिङ्टन र तेहरानबीच युद्ध अन्त्यका लागि भएको वार्ता असफल भएपछि अमेरिकाले इरानमाथि पुनः सैन्य आक्रमण सुरु गरेको एक दिनपछि विमान परिवर्तन गरिएको बताइएको छ।

कतारले दिएको नयाँ विमान छाडेर पुरानै एयर फोर्स वन रोजेका थिए

ट्रम्प टर्की पुग्दा कतारले उपहार दिएको नयाँ बोइङ ७४७–८ विमान प्रयोग गरेका थिए। तर फर्किने क्रममा भने उनले पुरानो एयर फोर्स वन प्रयोग गर्ने घोषणा गरेका थिए।

जुलाई ८ मा सार्वजनिक भएको भिडियोमा ट्रम्प अंकारा विमानस्थलमा राष्ट्रपतीय विमानमा चढिरहेको देखिन्छ। त्यसपछि उनलाई विमानको अर्को छेउबाट क्याटरिङ सेवा दिने ट्रकमार्फत सी–३२ए विमानमा पुर्‍याइएको वासिङ्टन पोस्टको रिपोर्टमा उल्लेख छ।

यसरी ट्रम्पलाई अर्को विमानमा सार्दा घटना सामान्य विमान यात्राजस्तै देखाउने प्रयास गरिएको बताइएको छ।

रक्षा सचिव पनि छुट्टै विमानमा

रिपोर्टअनुसार अमेरिकी रक्षा सचिव पीट हेगसेथ पनि छुट्टै सी–३२ए विमानमा चढेका थिए। उनी भने विमानको बाहिरी भर्‍याङ प्रयोग गरेर विमानमा प्रवेश गरेका थिए।

राष्ट्रपति र रक्षा सचिवलाई फरक–फरक सैन्य विमानमा राखिएको घटनाले सम्भावित सुरक्षा जोखिमलाई गम्भीर रूपमा लिइएको देखाएको छ।

यद्यपि, ट्रम्पलाई विमान परिवर्तन गर्न लगाइएको वास्तविक सुरक्षा मूल्याङ्कन, क्षेप्यास्त्र खतराको स्रोत तथा त्यसबारे अमेरिकी सुरक्षा निकायले गरेको निर्णयको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

सम्बन्धित समाचार