सरकारप्रति नागरिकमा आक्रोश छ, तर्साएर म तर्सिन्नँ : गगन थापा

1.7k Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैलीप्रति नागरिकमा अनिश्चितता, हतास र आक्रोश बढिरहेको बताएका छन् ।

आइतबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले आफूले विभिन्न नागरिकसँग कुराकानी गर्दा सरकारप्रति भरोसा कमजोर हुँदै गएको पाएको बताए । उनका अनुसार कतिपय नागरिकमा ‘हिजो पनि राम्रो भएन, आज पनि भएन, भोलि पनि हुँदैन’ भन्ने खालको निराशा देखिएको छ भने केहीमा आक्रोशसमेत बढेको छ ।

थापाले नागरिकमा देखिएको आक्रोशलाई कांग्रेसले खुसीको विषयका रूपमा लिन नहुने बताए । बरु त्यसबाट सचेत भएर राजनीतिक दलहरूले आफ्नो भूमिका र जिम्मेवारीबारे गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।

उनले नागरिकको असन्तुष्टि एकैदिन सिर्जना नभएको उल्लेख गर्दै विगतमा जनताको गुनासो र असन्तुष्टिलाई बेवास्ता गर्दा त्यसको परिणाम निर्वाचनमार्फत व्यक्त भएको बताए । उनका अनुसार नागरिकमा जम्मा हुँदै गएको आक्रोश अन्ततः मतपत्रमार्फत एकमुष्ट रूपमा प्रकट भएको हो ।

सरकारप्रति नागरिकको असन्तुष्टिबारे धारणा राखेपछि थापाले कांग्रेसभित्र आफूलाई दबाउन वा तर्साउन खोज्ने प्रयासप्रति पनि कडा प्रतिक्रिया दिएका छन् ।

‘तर्साएर म तर्सिन्नँ, दबाएर म दबिन्नँ, फकाएर फकिन्नँ’ भन्दै उनले आफू पार्टी विधानको सीमाभित्र रहेर अघि बढ्ने बताए । पार्टीका सबै पुस्ता र नेताहरूलाई जोडेर लैजाने आफ्नो प्रयास रहेको उनको भनाइ थियो ।

थापाले कांग्रेसमा चार पुस्ताका नेता रहेको उल्लेख गर्दै सबैप्रति सम्मान राखेर संवाद र सहकार्यका माध्यमबाट पार्टीलाई अघि बढाउनुपर्ने बताए । पार्टीभित्रबाट आफूविरुद्ध आलोचना र निन्दा भए पनि त्यसबाट विचलित नहुने संकेत उनले दिएका छन् ।

उनले आगामी असोजमा कांग्रेसको १५औँ महाधिवेशन हुने जानकारी दिँदै त्यसअघि क्रियाशील सदस्यता अद्यावधिक गर्ने काम भइरहेको बताए । बाँकी रहेका सदस्यलाई समेट्ने तथा केही तहका अधिवेशनको तालिका हेरफेर हुनसक्ने पनि उनले जानकारी दिए ।

थापाका पछिल्ला अभिव्यक्तिले एकातिर सरकारप्रति बढ्दो जनअसन्तुष्टिलाई विपक्षी दलले उठाउन खोजेको देखिन्छ भने अर्कोतिर कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष र आगामी महाधिवेशनको तयारी पनि तीव्र बन्दै गएको संकेत गरेको छ ।

सम्बन्धित समाचार