सरकारको रोकपछि तिब्बती अध्ययन सम्मेलन अनलाइनमा

1k Shares

काठमाडौं । नेपालमा आयोजना हुन लागेको तिब्बती अध्ययनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सरकारले सुरक्षा संवेदनशीलता देखाउँदै रोक लगाएपछि आयोजकले सम्मेलन भर्चुअल माध्यमबाट आयोजना गर्ने निर्णय गरेको छ।

इन्टरनेसनल एसोसिएसन फर तिब्बेटन स्टडिज (आईएटीएस) को १७औँ सम्मेलन अब पूर्वनिर्धारित मितिमै अर्थात् अगस्ट २३ देखि २९ सम्म अनलाइन माध्यमबाट सञ्चालन हुने भएको हो। नेपालतर्फको सहआयोजक काठमाडौं विश्वविद्यालयअन्तर्गतको हिमालय सेन्टर फर एसियन स्टडिज–सेन्टर फर बुद्धिस्ट स्टडिजले कार्यक्रमबाट हात झिकेपछि आईएटीएसले आफैं सम्मेलनको जिम्मेवारी लिएको जनाएको छ।

आईएटीएसको सञ्चालक समितिले अगस्ट ७ मा आकस्मिक बैठक बसेर नेपालमा भौतिक रूपमा आयोजना गर्न नसकिए पनि कार्यक्रमको शैक्षिक उद्देश्यलाई निरन्तरता दिने निर्णय गरेको हो। सम्मेलनमा सहभागीहरूले आ–आफ्नो स्थानबाट शोधपत्र तथा प्रस्तुति अनलाइनमार्फत प्रस्तुत गर्न सक्नेछन्।

अन्तिम समयमा रोकिँदा प्रतिष्ठामा असर पर्ने दाबी

आयोजकले सम्मेलन अन्तिम समयमा रोकिँदा नेपालको अन्तर्राष्ट्रिय शैक्षिक प्रतिष्ठामा असर परेको दाबी गरेको छ। तीन वर्षदेखि तयारी भइरहेको सम्मेलनमा ७ सयभन्दा बढी सहभागीले दर्ता गरिसकेको र धेरैले हवाई टिकट तथा काठमाडौंका होटलसमेत बुक गरिसकेको आयोजकको भनाइ छ।

आयोजकका अनुसार कार्यक्रम रोकिँदा सहभागी, आयोजक तथा नेपालमा समेत आर्थिक क्षति भएको छ। यस्ता घटनाले भविष्यमा नेपालमा अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रम आयोजना गर्ने विषयमा आयोजक तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरूलाई पुनर्विचार गर्न बाध्य बनाउन सक्ने उसको चिन्ता छ।

चीनको संवेदनशीलताबीच सरकारको हस्तक्षेप

तिब्बती विषय चीनका लागि संवेदनशील विषय भएकाले सम्मेलनप्रति चीनले चासो राखेपछि नेपाल सरकारले कार्यक्रम रोक्ने निर्णय गरेको समाचारमा उल्लेख छ।

सम्मेलन रोक्न मुख्यसचिव गोविन्दबहादुर कार्की र परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले काठमाडौं विश्वविद्यालयलाई निर्देशन दिएको आयोजकको भनाइ छ। त्यसपछि आयोजकलाई नेपालमा सम्मेलन सञ्चालन गर्न नसकिने मौखिक जानकारी दिइएको थियो। यद्यपि, सम्मेलन रोकिएको विषयमा सरकारले अहिलेसम्म लिखित सूचना नदिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार काठमाडौं विश्वविद्यालयसँग सम्मेलन नेपालमा आयोजना गर्ने सहमति सन् २०२३ मै भएको थियो। त्यसयता तीन वर्षसम्म तयारी भइरहँदा कुनै पक्षबाट औपचारिक आपत्ति वा सुरक्षा चासो व्यक्त नगरिएको उसको दाबी छ।

शिक्षामन्त्रीसँग समेत सहयोग मागियो

सम्मेलन रोकिएपछि आईएटीएसको सल्लाहकार बोर्डले अगस्ट ६ मा शिक्षामन्त्री सस्मित पोखरेललाई पत्र पठाउँदै कार्यक्रम सञ्चालनका लागि सहजीकरण गर्न आग्रह गरेको थियो।

पत्रमा छोटो सूचनामा कार्यक्रम रोकिँदा आयोजक र सहभागीले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै काठमाडौं विश्वविद्यालयले आयोजना गर्न नसके आईएटीएस आफैंले कार्यक्रम सञ्चालन गर्ने विकल्पसमेत अघि सारिएको थियो। तर मन्त्रीबाट अपेक्षित प्रतिक्रिया नआएपछि आयोजकले भर्चुअल सम्मेलन गर्ने निर्णय गरेको हो।

आईएटीएसले आफ्नो ४७ वर्षको इतिहासमा एसिया, युरोप र उत्तर अमेरिकामा १६ वटा सम्मेलन आयोजना गरिसकेको र ती कार्यक्रम विशुद्ध शैक्षिक प्रकृतिका रहेको दाबी गरेको छ।

नेपालमा तिब्बती अध्ययनसम्बन्धी सम्मेलन रोकिएको घटनाले भने शैक्षिक स्वतन्त्रता, नेपालको कूटनीतिक संवेदनशीलता र अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गर्ने मुलुकको विश्वसनीयताबीचको सन्तुलनबारे नयाँ बहस सिर्जना गरेको छ।

सम्बन्धित समाचार