धनकुटा । धनकुटामा गुडिरहेको अटोमा अचानक आगलागी हुँदा अटो पूर्णरूपमा जलेर नष्ट भएको छ । घटनामा अटोमा सवार चारै जना सकुशल रहेका छन् ।
शनिबार धनकुटा नगरपालिका–१ त्रिशुलेस्थित कोशी लोकमार्गमा हिलेबाट जोरपाटीतर्फ जाँदै गरेको को २ ह ८१७७ नम्बरको अटोमा अचानक आगलागी भएको हो । अटोमा चालकसहित चार जना सवार थिए ।
आगलागीको सूचना पाएपछि प्रहरी चौकी हिलेबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले स्थानीयको सहयोगमा अटोमा लागेको आगो नियन्त्रणमा लिएको जनाएको छ ।
आगलागीबाट अटोमा करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
आगलागीको कारण भने खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।