‘टर्बुलेन्स आए पनि सरकारलाई गन्तव्यमा सुरक्षित पुर्‍याउँछौँ’ : लामिछाने

988 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो नेतृत्वमा रहेको सरकारले तय गरेको गन्तव्यमा पुगेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । लामिछानेले सरकार सञ्चालनका क्रममा विभिन्न चुनौती र उतारचढाव आउन सक्ने भए पनि त्यसलाई सामना गर्दै अघि बढ्ने बताए ।

उनले सरकारको यात्रालाई हवाई उडानसँग तुलना गर्दै मौसमका कारण कहिलेकाहीँ ‘टर्बुलेन्स’ आए पनि गन्तव्यसम्म सुरक्षित रूपमा पुग्ने दाबी गरे ।

‘चिन्ता नगर्नुहोला, यो उडान जसलाई गन्तव्यमा लिएर हिँडेका छौँ, कहिलेकाहीँ मौसमका कारण टर्बुलेन्स आउन सक्छ । तर, हामी गन्तव्यमा सुरक्षित पुर्‍याउँछौँ,’ लामिछानेले भने ।

अप्ठ्यारो परिस्थिति सिर्जना भए त्यसलाई व्यवस्थापन गर्न रास्वपासँग आवश्यक नेतृत्व क्षमता रहेको उनको भनाइ थियो । पार्टीमा केही गरौँ भन्ने हुटहुटी बोकेका युवाहरूको ठूलो समूह रहेको उल्लेख गर्दै उनले युवाहरूको सक्रियताले पार्टीलाई थप बलियो बनाउने दाबी गरे ।

‘अप्ठेरो पर्‍यो भने त्यसलाई सम्हाल्न सक्ने गार्जियनसिप हाम्रो पार्टीसँग छ । यो पार्टीमा तपाईंहरूजस्तै केही गरौँ भनेर हुटहुटी बोक्नुभएका युवाहरू हुनुहुन्छ,’ लामिछानेले भने ।

उनको अभिव्यक्तिले सरकार सञ्चालनका क्रममा देखिन सक्ने चुनौतीप्रति रास्वपा नेतृत्व सजग रहेको र ती चुनौती सामना गर्दै सरकारको घोषित लक्ष्य पूरा गर्ने सन्देश दिएको छ ।

 
 
 
सम्बन्धित समाचार