राष्ट्रका समस्या समाधान गर्ने क्षमता एमालेसँग मात्रै छ : शंकर पोखरेल

1.2k Shares

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रका समस्या समाधान गर्ने क्षमता एमालेबाहेक अन्य कुनै दलसँग नरहेको दाबी गरेका छन्।

शनिबार एमाले तारकेश्वर नगर कमिटीले आयोजना गरेको ‘मिसन पार्टी जागरण–२०८३’ तथा पुष्पलाल स्मृति दिवस कार्यक्रममा बोल्दै पोखरेलले पार्टी र आन्दोलन कमजोर हुनुका कारण पहिचान गरी समाधान गर्नु अहिलेको मुख्य सांगठनिक कार्यभार भएको बताए।

उनले एमालेको संगठनलाई वैचारिक, राजनीतिक र सांगठनिक रूपमा एकताबद्ध बनाउन शुद्धीकरण, सुदृढीकरण र रूपान्तरण आवश्यक रहेको बताए। निर्वाचनमा पार्टीले अपेक्षाअनुसार परिणाम ल्याउन नसकेको स्वीकार गर्दै उनले जनताको मनोविज्ञान र भावनालाई बुझेर अघि बढ्नुपर्नेमा जोड दिए।

पोखरेलले पछिल्लो समय कार्यकर्ता पलायनप्रति चिन्तासमेत व्यक्त गरे। कार्यकर्ता पार्टीबाट बाहिरिएपछि उनीहरूलाई पुनः संगठनमा फर्काउन कठिन हुने भन्दै उनले पार्टीभित्रै नयाँ ढंगले काम गर्ने वातावरण बनाउनुपर्ने बताए।

उनले एमालेले चुनाव हारे पनि जनताको भावना बुझेर अघि बढ्ने संकल्प गरे वर्तमान चुनौती सामना गर्ने सामर्थ्य पार्टीसँग रहेको दाबी गरे। ‘राष्ट्रका समस्याहरू समाधान गर्ने क्षमता यही पार्टीबाहेक अरू कुनै पार्टीसँग छ भन्ने मलाई लाग्दैन’, उनले भने।

पोखरेलले प्रमुख राजनीतिक दलहरूले आफ्ना कमजोरी सच्याएर अघि बढ्नु नै नेपालको राजनीतिक भविष्यका लागि सुरक्षित बाटो भएको बताए। पछिल्लो राजनीतिक परिस्थितिलाई संकेत गर्दै उनले अरूलाई ‘देखाइदिऊँ’ भन्ने प्रवृत्तिको परिणाम मुलुकले भोगिरहेको टिप्पणीसमेत गरे।

उनको अभिव्यक्ति एमालेले पछिल्लो निर्वाचनको कमजोर परिणामपछि संगठन सुदृढीकरण र कार्यकर्ता पुनःजोड्ने अभियानलाई प्राथमिकता दिन खोजिरहेको सन्देशका रूपमा आएको छ। पार्टीभित्रका कमजोरी सुधार नगरी केवल राजनीतिक दाबीले मात्र जनविश्वास फर्काउन नसकिने भएकाले पोखरेलले संगठन पुनर्निर्माणलाई जोड दिएका देखिन्छन्।

सम्बन्धित समाचार