काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा जिम्मेवारी लिएर काम नगर्ने तथा संकटका बेला पछि हट्नेहरूलाई पार्टीबाट बिदा गर्ने चेतावनी दिएका छन्।
राप्रपा काठमाडौं महानगरपालिका नगर कमिटीको अधिवेशनलाई शनिबार सम्बोधन गर्दै लिङ्देनले पार्टी र देशको सेवामा समर्पित भएर काम गर्न चाहने कार्यकर्ताको राजनीतिक भविष्य सुरक्षित गर्ने जिम्मेवारी आफूले लिने बताए।
उनले अवसर नपाइने चिन्ताका कारण कार्यकर्ताहरू विचलित हुनुपर्ने अवस्था नरहेको भन्दै काम गर्नेहरूका लागि पार्टीमा पर्याप्त ठाउँ रहेको, तर पद मात्रै ओगटेर बस्ने र संघर्षका बेला भाग्नेहरूलाई भने पार्टीमा राखिरहन नसकिने स्पष्ट पारे।
लिङ्देनले पार्टीभित्र विगतका अन्तरसंघर्ष वा मतभेदका कारण कोही त्रसित हुन आवश्यक नरहेको बताए। आफू सबैको अभिभावकका रूपमा अघि बढ्ने उल्लेख गर्दै उनले जिम्मेवारी लिएर काम नगर्नेहरूलाई भने कुनै छुट नदिने संकेत गरे।
उनले राप्रपाको संगठन विस्तारका लागि सक्रिय सदस्यता अभियानमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए। पार्टीलाई बलियो बनाउन प्रत्येक कार्यकर्ताले आफ्नो परिवार र समुदायबाटै संगठन विस्तारको अभियान सुरु गर्नुपर्ने उनको भनाइ थियो।
लिङ्देनको पछिल्लो अभिव्यक्तिले राप्रपाभित्र संगठन सुदृढीकरणसँगै जिम्मेवारी पाएका नेताहरूको सक्रियता र अनुशासनलाई कडाइका साथ अघि बढाउने संकेत गरेको छ। विशेषगरी पार्टीको राजनीतिक अभियानमा सक्रिय नहुने तर पदमा निरन्तर रहिरहने प्रवृत्तिविरुद्ध अध्यक्ष लिङ्देनले कडा सन्देश दिएका छन्।