सुनसरीमा ४ क्विन्टल १८ किलो गाँजासहित ४ जना पक्राउ

1k Shares

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित बराहक्षेत्र–चतरा सडकबाट प्रहरीले ४ क्विन्टल १८ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ।

बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको कार र मोटरसाइकलमा प्रहरीले खानतलासी गर्दा २२ वटा पोकामा राखिएको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन राई, ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–५ की २२ वर्षीया जीवनी राई, मोरङको कटहरी गाउँपालिका–३ का २६ वर्षीय अमर कामत र सोही ठाउँका ३८ वर्षीय शंकर चौधरी रहेका छन्।

प्रहरीका अनुसार थमन कार चालक हुन् भने जीवनी कारमा सवार थिइन्। त्यसैगरी अमर मोटरसाइकल चालक र शंकर मोटरसाइकलमा सवार रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। प्रहरीले बरामद गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजाँदै गरिएको थियो भन्ने विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ।

यो घटनाले पूर्वी नेपालमा गाँजाको अवैध ओसारपसार नियन्त्रणका लागि प्रहरीले सवारीसाधन तथा यात्रुमाथि निगरानी बढाइरहेको देखाएको छ। ठूलो परिमाणमा गाँजा एउटैपटक बरामद हुनुले यसको पछाडि संगठित तस्करीको सम्भावनासमेत अनुसन्धानको विषय बन्ने देखिन्छ।

सम्बन्धित समाचार