होटल संघ लुम्बिनी प्रदेशको तदर्थ समिति गठन

1.4k Shares

बुटवल । होटल संघ नेपाल (हान) लुम्बिनी प्रदेशको तदर्थ समिति गठन भएको छ। साविकको नेप्लिज होटेलियर्स एसोसिएसन लुम्बिनीसँग एकीकरणपछि बुटवलमा भएको होटल व्यवसायीहरूको भेलाले सीपी श्रेष्ठको अध्यक्षतामा नयाँ तदर्थ समिति गठन गरेको हो।

नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा प्रवीण पाठक, प्रथम उपाध्यक्षमा हरिबहादुर थापा र उपाध्यक्षमा अनिलप्रसाद श्रेष्ठ चयन भएका छन्। त्यस्तै महासचिवमा टेकनाथ बस्याल, सचिवमा दिलीप गौचन र कोषाध्यक्षमा सुशान्त गौचन रहेका छन्।

कार्यसमिति सदस्यमा प्रणदा दीक्षित, ओबिन्द्र महरा, धीरेन्द्र प्रधान, कमल पौडेल, गिरिराज पाण्डे, लक्ष्मण भण्डारी, दुर्गा बस्याल, पदमवीर थापा र निर्मल श्रेष्ठ चयन भएका छन्। महेन्द्रनारायण श्रेष्ठ र गोपाल राना सल्लाहकार तोकिएका छन्।

समिति गठन कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भारतीय पर्यटकलाई लक्षित गरेर प्रदेशका प्रमुख धार्मिक पर्यटकीय गन्तव्यमा स्तरीय शाकाहारी होटलको विस्तार गर्न सुझाव दिए।

उनले विशेषगरी भारतको उत्तर प्रदेशमा आकर्षक पर्यटकीय प्याकेजसहित प्रचार–प्रसार बढाउनुपर्ने बताए। पर्यटकको लुम्बिनीमा बसाइ अवधि लम्ब्याउन सके मात्र पर्यटनबाट अपेक्षित आर्थिक लाभ लिन सकिने उनको भनाइ थियो।

होटल संघ नेपाल लुम्बिनी प्रदेशका महासचिव टेकनाथ बस्यालका अनुसार संघमा तारे स्तरका ४० भन्दा बढी होटल आबद्ध छन्। नयाँ तदर्थ समितिले प्रदेशको होटल तथा पर्यटन व्यवसायलाई थप व्यवस्थित गर्दै धार्मिक पर्यटनसँग जोडेर व्यवसाय विस्तार गर्ने अपेक्षा गरिएको छ।

 
 
 
सम्बन्धित समाचार