अमेरिकी दूतावासको युवा परिषद्मा ५५ युवा छनोट

946 Shares

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले यूएस एम्बेसी युथ काउन्सिल नेपाल (यूएसवाईसी) २०२६ का लागि देशभरबाट ५५ जना युवा छनोट गरेको छ।

१ हजार ६ सयभन्दा बढी आवेदकमध्येबाट छनोट भएका युवालाई सहभागी गराउँदै दूतावासले नयाँ समूहको सुरुवाती सत्र आयोजना गरेको हो।

अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले छनोट भएका युवालाई बधाई दिँदै उनीहरूले समुदायमा नवप्रवर्तन, आर्थिक वृद्धि र सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

दूतावासका अनुसार परिषद्का सदस्यको कार्यकाल एक वर्षको हुनेछ। यस अवधिमा उनीहरूले नेतृत्व क्षमता विकास गर्नुका साथै आफ्ना समकक्षी तथा विभिन्न क्षेत्रका विज्ञहरूसँग सम्पर्क विस्तार गर्ने अवसर पाउनेछन्। कार्यक्रमले युवालाई नेपालका लागि भविष्यमा उपलब्ध हुनसक्ने अवसरका लागि तयार पार्ने उद्देश्य राखेको छ।

अमेरिकाले आफ्नो स्वतन्त्रताको २५०औँ वर्ष मनाइरहेको सन्दर्भमा दूतावासले यूएसवाईसी नेपालजस्ता कार्यक्रमले नेपालका नयाँ पुस्ताका नेतृत्वसँग विभिन्न व्यावसायिक क्षेत्रमा सहकार्य गर्ने अमेरिकी प्रतिबद्धता देखाउने जनाएको छ।

दूतावासले समृद्ध नेपालले व्यापार, नवप्रवर्तन तथा दीर्घकालीन सहकार्यका नयाँ अवसर सिर्जना गर्ने र त्यसबाट नेपाल तथा अमेरिका दुवै लाभान्वित हुने उल्लेख गरेको छ।

यस कार्यक्रमले नेपाली युवालाई नेतृत्व, व्यावसायिक सीप र नेटवर्क विस्तारको अवसर दिने भएकाले आगामी दिनमा विभिन्न क्षेत्रमा युवा नेतृत्व विकास गर्ने अमेरिकी दूतावासको प्रयासका रूपमा समेत हेरिएको छ।

सम्बन्धित समाचार