खोटाङ । खोटाङमा जंगलमा शंकास्पद अवस्थामा रोकिराखेको ट्रकबाट प्रहरीले १ हजार ३१५ किलो गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले शुक्रबार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरी डाँडास्थित मध्यपहाडी लोकमार्गको जंगलमा रोकिराखेको ट्रक जाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार प्र.१–०२–००२ ख ००८३ नम्बरको ट्रक शंकास्पद अवस्थामा जंगलमा रोकिराखिएको थियो । ट्रकमा कोही व्यक्ति नभेटिएपछि प्रहरीले शंका लागेर जाँच गरेको थियो ।
जाँचका क्रममा ट्रकको चालक बस्ने भाग र पछाडिको डालाको बीचमा फल्स बटम बनाएर गाँजा लुकाइराखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद गाँजा र ट्रकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान अघि बढाएको छ । घटनापछि ट्रक चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।