कोशी सरकारबाट कांग्रेसका पाँच मन्त्री बाहिरिँदै

1.7k Shares

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक राजीनामा दिने तयारी गरेका छन्।

राजीनामा दिने विषयमा छलफल गर्न कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक बस्ने तयारी भइरहेको छ। उनीहरूले शुक्रबार नै मुख्यमन्त्री हिक्मतकुमार कार्की लाई भेट्ने र त्यसपछि बस्ने बैठकबाट राजीनामा बुझाउने मिति तय गर्ने तयारी गरेका छन्।

भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवारले लुम्बिनी भ्वाइसलाई बताएअनुसार कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन्।

“हामीले सामूहिक राजीनामा दिने तयारी गरेका छौँ। आजै मुख्यमन्त्रीलाई भेटेपछि बैठक बस्छौँ र राजीनामा बुझाउने दिन तय गर्छौँ,” मन्त्री सुनुवारले लुम्बिनी भ्वाइससँग भने।

नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता गठबन्धनसम्बन्धी तीनबुँदे सहमति भएपछि कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरू फिर्ता हुन लागेका हुन्।

एमालेका हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी र भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ सहभागी छन्।

कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएसँगै कोशी प्रदेश सरकारको सत्ता समीकरणमा नयाँ परिस्थिति सिर्जना हुने देखिएको छ। सरकार पुनर्गठन र नयाँ राजनीतिक सहमतिका विषयमा दलहरूबीच थप छलफल हुने अपेक्षा गरिएको छ।

 
 
 
सम्बन्धित समाचार