५८ वर्षपछि रुपन्देहीका स्थानीयले पाए जग्गाको लालपुर्जा
1.1k
Shares
रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाअन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा बसोबास गर्दै आएका स्थानीय स्ववासीले ५८ वर्षपछि आफ्नो जग्गाको कानुनी स्वामित्व प्रमाणपत्र (लालपुर्जा) प्राप्त गरेका छन्।
वि.सं. २०२५ सालमा गाउँब्लकका रूपमा छुट्याइएको उक्त क्षेत्रमा लामो समयदेखि जग्गाको स्वामित्व प्रमाणपत्र पाउन नसकेका स्थानीयलाई शुक्रबार लालपुर्जा वितरण गरिएको हो।
उक्त क्षेत्रमा कुल ३२४ वटा जग्गा दर्ता कायम भएकोमा पहिलो चरणमा २७१ वटा लालपुर्जा सम्बन्धित जग्गाधनीलाई हस्तान्तरण गरिएको छ।
दशकौँदेखि आफ्नै जग्गाको कानुनी प्रमाणको प्रतीक्षामा रहेका स्थानीयका लागि लालपुर्जा प्राप्ति ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ। लालपुर्जा पाएसँगै अब उनीहरूको जग्गाको स्वामित्व कानुनी रूपमा सुनिश्चित भएको छ।
जग्गाधनी प्रमाणपुर्जा प्राप्त भएपछि जग्गा किनबेच, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन, धितो राख्न र अन्य प्रशासनिक काम गर्न सहज हुने अपेक्षा गरिएको छ।
५८ वर्ष लामो प्रतीक्षापछि आफ्नो नाममा जग्गाको प्रमाणपत्र पाएपछि स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन्। उनीहरूले लामो समयदेखिको समस्या समाधान भएको भन्दै राज्यप्रति आभार व्यक्त गरेका छन्।