यमनको मध्य तथा पूर्वी क्षेत्रमा इरान समर्थित हुथी विद्रोहीहरूले गरेको मिसाइल र ड्रोन आक्रमणमा परी सरकारी सेनाका कम्तीमा ३० सैनिकको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।
यमनको रक्षा मन्त्रालयका अनुसार बिहीबार बिहान मारिब र हदरामौत प्रान्तस्थित विभिन्न सैन्य शिविरलाई लक्षित गर्दै ब्यालिस्टिक मिसाइल र ड्रोनमार्फत एकसाथ आक्रमण गरिएको हो। पछिल्ला केही वर्षयता सरकारी सेना र हुथी विद्रोहीबीच भएको यो सबैभन्दा घातक आक्रमणमध्ये एक मानिएको छ।
रक्षा मन्त्रालयले घटनालाई ‘विश्वासघाती आक्रमण’को संज्ञा दिँदै कडा शब्दमा निन्दा गरेको छ। मन्त्रालयले आक्रमणको उचित समय र स्थानमा जवाफ दिइने चेतावनीसमेत दिएको छ।
यता, उत्तर–पश्चिमी यमनको ठूलो भूभाग आफ्नो नियन्त्रणमा राखेका हुथी विद्रोहीहरूले भने आफूहरूविरुद्ध सैन्य कारबाहीको तयारीमा रहेको ‘ठूलो साउदी सैन्य जमघट’लाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेका छन्।
हुथीहरूले अदनको खाडीमा रहेको साउदी अरबको तेल ट्यांकर ‘डेजी’माथि पनि मिसाइल प्रहार गरेको दाबी गरेका छन्। यस घटनाले यमनमा फेरि व्यापक द्वन्द्व चर्किने जोखिम बढेको भन्दै सुरक्षा विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन्।
यसैबीच, साउदी अरबको नेतृत्वमा रहेको गठबन्धन सेनाका प्रवक्ताले नजरान सीमा क्षेत्रमा भएको अर्को छुट्टै आक्रमणमा ११ जना सर्वसाधारण घाइते भएको जानकारी दिएका छन्। घाइतेमध्ये एक महिला, चार वर्षीय बालकसहित सात जना साउदी नागरिक तथा यमन, पाकिस्तान र इजिप्टका चार विदेशी नागरिक रहेका छन्।
उता, नजरान क्षेत्रमा बिहीबार भीषण आगलागी पनि भएको छ। आगोका कारण आकाशभरि धुवाँको मुस्लो फैलिएको थियो भने दमकल तथा उद्धार टोलीहरूले आगो नियन्त्रणमा लिन प्रयास जारी राखेका छन्। आगलागीको कारण भने तत्काल खुल्न सकेको छैन।
हालसम्म यी घटनाबीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि भएको छैन। तर, लगातारका आक्रमण र सुरक्षा घटनाले यमन–साउदी सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ।