अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आवश्यक परे ठूलो मात्रामा हतियार प्रयोग गर्न सक्षम रहेको बताउँदै देशको रक्षा उत्पादन क्षमता अभूतपूर्व रूपमा विस्तार भइरहेको बताएका छन्। उनले अमेरिकी रक्षा उद्योगहरूले इतिहासकै सबैभन्दा धेरै नयाँ उत्पादन प्लान्ट र कारखाना निर्माण गरिरहेको दाबी गरेका छन्।
सामाजिक सञ्जालमार्फत् ट्रम्पले अमेरिकासँग पर्याप्त हतियार मौज्दात रहेको र आवश्यकताअनुसार ठूलो परिमाणमा उत्पादन तथा आपूर्ति निरन्तर भइरहेको उल्लेख गरेका हुन्। उनका अनुसार यसले अमेरिकाको सैन्य तयारी र रक्षा क्षमता थप सुदृढ बनाउनेछ।
ट्रम्पले गोप्य रक्षासम्बन्धी सूचना चुहाउने व्यक्तिहरूमाथि कडा कारबाही गरिने चेतावनी पनि दिएका छन्। त्यस्ता व्यक्तिहरूको पहिचान भइरहेको दाबी गर्दै उनले उनीहरूविरुद्ध लामो जेल सजायको माग गरिने बताएका छन्। यद्यपि, उनले कुन सूचना वा कुन घटनासम्बन्धी चुहावटको विषयमा टिप्पणी गरेका हुन् भन्ने खुलाएका छैनन्।
यसैबीच, लस भेगासमा बुधबार आयोजित एक कार्यक्रममा ट्रम्पले इरानसँगको तनाव सैन्य कारबाहीभन्दा कूटनीतिक वार्तामार्फत समाधान गर्न चाहेको बताएका छन्। “म मानिसहरू मार्न चाहन्नँ, त्यसैले म सम्झौता गर्न चाहन्छु,” उनले भने।
ट्रम्पले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा ठूलो सैन्य आक्रमणको तयारी अमेरिका गरिसकेको दाबी गर्दै त्यसपछि अर्को पक्षले आक्रमण नगर्न आग्रह गर्दै वार्ताको प्रस्ताव गरेको उल्लेख गरे। तर, सार्वजनिक रूपमा भने त्यही पक्षले वार्ता भएको स्वीकार नगरेको उनको भनाइ थियो।
फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले इरान आफैँ अमेरिकासँग वार्ता गर्न इच्छुक रहेको दाबी गरे। उनले दुवै देशबीचको संवाद सकारात्मक दिशामा अघि बढिरहेको र निकट भविष्यमा सम्झौता हुन सक्ने विश्वास व्यक्त गरे।
उनका अनुसार इरानले गोप्य रूपमा वार्ताको पहल गरे पनि सार्वजनिक रूपमा त्यसको स्वीकारोक्ति गर्न चाहँदैन। “मलाई लाग्छ उनीहरूले सम्झौता गर्नेछन्। अब के हुन्छ, हेरौँ,” ट्रम्पले भने।
यता, अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले भने इरानसँगको वार्ता सहज नरहेको बताएका छन्। उनका अनुसार इरानभित्र केही समूह युद्ध अन्त्य गर्न चाहन्छन् भने केही कट्टरपन्थी समूह द्वन्द्वलाई निरन्तरता दिन चाहन्छन्। त्यसैले अमेरिका सैन्य, आर्थिक र कूटनीतिक सबै पक्षलाई सन्तुलनमा राखेर अघि बढ्नुपर्ने उनको भनाइ छ।