भारतीय प्रधानसेनापति जनरल धिरज सेठ यही अगस्ट १६ मा नेपाल भ्रमणमा आउने भएका छन्। उच्च सरकारी स्रोतका अनुसार नेपाल–भारत सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित उनको औपचारिक भ्रमण तय भएको हो।
जनरल सेठले सन् २०२६ जुन ३० मा भारतीय सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए। परम्पराअनुसार नेपाल भ्रमणका क्रममा उनलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापति (मानार्थ महारथी) को दर्जा प्रदान गरिने कार्यक्रम रहेको छ।
नेपाल र भारतबीच लामो समयदेखि एकअर्काका प्रधानसेनापतिलाई मानार्थ महारथीको सम्मान प्रदान गर्ने परम्परा रहँदै आएको छ। दुवै देशका नयाँ प्रधानसेनापति नियुक्त भएपछि एकअर्काको देश भ्रमण गरी उक्त सम्मान ग्रहण गर्ने अभ्यास दशकौँदेखि निरन्तर छ।
भ्रमणका क्रममा जनरल सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गर्ने सम्भावना पनि रहेको स्रोतले जनाएको छ। यस सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रस्ताव पठाइएको भए पनि भेटघाटको कार्यक्रम भने अन्तिम रूपमा टुंगिएको छैन।
नेपाल र भारतका सेनाबीचको सैन्य सहकार्य तथा ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउने प्रतीकका रूपमा सन् १९५० देखि एकअर्काका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा कायम रहेको नेपाली सेनाको जङ्गी अड्डाले जनाएको छ।
यसअघि नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरिसकेका छन्। गत २७ मङ्सिर २०८१ मा नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई उक्त सम्मान प्रदान गरेकी थिइन्।