शेख हसिनाको दिल्ली संवादप्रति बङ्गलादेशको आपत्ति, भारतसँग कूटनीतिक असन्तुष्टि

29.6k Shares

भारतको नयाँदिल्लीमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई सञ्चारमाध्यमसँग प्रत्यक्ष संवाद गर्न अनुमति दिइएको विषयमा बङ्गलादेश सरकारले कडा असन्तुष्टि जनाएको छ। विदेश मन्त्रालयले यस घटनाले द्विपक्षीय सम्बन्धमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिँदै भारत सरकारको कदमप्रति गम्भीर आपत्ति जनाएको हो।

बुधबार जारी गरिएको विज्ञप्तिमा बङ्गलादेशको विदेश मन्त्रालयले हसिनालाई ‘फरार दोषी’ र ‘सामूहिक अपराधको अभियुक्त’ उल्लेख गर्दै उनलाई भारतीय भूमिमा सार्वजनिक रूपमा बोल्ने अवसर दिइनु अस्वीकार्य भएको जनाएको छ।

मन्त्रालयका अनुसार बङ्गलादेशका नागरिकले जुलाई क्रान्तिको दोस्रो वार्षिकोत्सव मनाइरहेका बेला नयाँदिल्लीमा हसिनाको सार्वजनिक उपस्थितिले बङ्गलादेशको सार्वभौमसत्ता र क्रान्तिका शहीदहरूको सम्मानमाथि आघात पुगेको छ।

विज्ञप्तिमा सन् २०२४ को जुलाई–अगस्टमा भएको हिंसाका क्रममा नाबालकसहित निर्दोष नागरिकको हत्या भएको संयुक्त राष्ट्रसङ्घले तथ्यगत रूपमा उल्लेख गरिसकेको दाबी गर्दै हसिनालाई सार्वजनिक मञ्च उपलब्ध गराइनुले इतिहासलाई तोडमोड गर्ने प्रयासलाई बल पुग्ने आरोप लगाइएको छ।

बङ्गलादेश सरकारले जुलाई क्रान्तिको आदर्शप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै देश फेरि कुनै पनि प्रकारको निरंकुश शासनतर्फ नफर्किने स्पष्ट पारेको छ। साथै, दोषी ठहर गरिएकी शेख हसिना र उनका सहयोगीहरूको बङ्गलादेशको राजनीतिमा कुनै स्थान नहुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

विदेश मन्त्रालयले बङ्गलादेश र भारतबीच सन् २०१३ मा भएको प्रत्यर्पण सन्धिअनुसार हसिनालाई स्वदेश फिर्ता गर्न पटक–पटक आग्रह गरिए पनि भारतबाट कुनै औपचारिक प्रतिक्रिया नआएको जनाएको छ। यस्तो अवस्थामा उनलाई सार्वजनिक कार्यक्रम गर्न अनुमति दिनु द्विपक्षीय सम्बन्धको भावनाविपरीत भएको बङ्गलादेशको भनाइ छ।

यसअघि शेख हसिनाले नयाँदिल्लीबाट भर्चुअल पत्रकार सम्मेलन गर्दै आगामी डिसेम्बरमा बङ्गलादेश फर्किने घोषणा गरेकी थिइन्। उनले गिरफ्तारी, जेल वा ज्यानमाथिको जोखिमजस्ता जुनसुकै परिणाम भोग्न तयार रहेको बताउँदै आफ्ना समर्थक र देशवासीबाट टाढा बस्न नसक्ने उल्लेख गरेकी थिइन्।

हसिनाको उक्त अभिव्यक्तिपछि बङ्गलादेश–भारत सम्बन्धमा नयाँ कूटनीतिक तनाव उत्पन्न भएको विश्लेषण गरिएको छ।

सम्बन्धित समाचार