जापानको हिरोसिमा सहरले अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवस मनाउँदै विश्व समुदायलाई आणविक हतियारको जोखिमप्रति पुनः सचेत गराएको छ। समारोहमा विश्वका शक्तिराष्ट्रहरूलाई आणविक प्रतिरोधको नीति त्यागेर शान्ति र निरस्त्रीकरणको मार्ग रोज्न आग्रह गरिएको छ।
हिरोसिमा शान्ति स्मारक पार्कमा आयोजित विशेष समारोहमा करिब ५० हजार मानिस सहभागी भएका थिए। संयुक्त राज्य अमेरिका, इरानसहित करिब १२० देश तथा क्षेत्रका प्रतिनिधिको उपस्थिति रहेको समारोहमा सन् १९४५ अगस्ट ६ मा अमेरिकी बी–२९ बमवर्षक विमानले हिरोसिमामाथि आणविक बम खसालेको समय बिहान ८:१५ बजे एक मिनेट मौनधारण गरिएको थियो। त्यसपछि शान्तिको प्रतीकस्वरूप घण्टी बजाइएको थियो।
समारोहलाई सम्बोधन गर्दै हिरोसिमाका मेयर काजुमी मात्सुईले विश्वका प्रमुख शक्तिबीच बढ्दो सैन्य प्रतिस्पर्धा र आणविक प्रतिरोधको अवधारणाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। उहाँले आणविक हतियारलाई सुरक्षा र प्रतिरोधको माध्यमका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले विश्वलाई पुनः हिरोसिमा र नागासाकीजस्तै विनाशतर्फ धकेल्न सक्ने चेतावनी दिनुभयो।
शान्ति घोषणामा मेयर मात्सुईले केही राजनीतिक नेतृत्वले अझै पनि आणविक प्रतिरोधलाई यथार्थवादी सुरक्षा अवधारणाका रूपमा स्वीकार गरिरहेको उल्लेख गर्दै यस्तो सोचले हिंसालाई वैधानिकता दिने र आणविक हतियारविहीन विश्व निर्माणको लक्ष्यलाई झन् टाढा पुर्याउने बताउनुभयो। उहाँले विगतका पीडादायी अनुभवबाट शिक्षा लिन र दिगो शान्तिका लागि विश्व समुदायलाई सक्रिय बन्न आग्रह गर्नुभयो।
यसैबीच, प्रधानमन्त्री साने ताकाइचीले प्रधानमन्त्री बनेपछि पहिलो पटक हिरोसिमा स्मृति समारोहमा सहभागी हुँदै संयुक्त राष्ट्रसङ्घको आणविक अप्रसार सन्धिको ढाँचाभित्र रहेर आणविक हतियारको प्रयोग कहिल्यै नहुने विश्व निर्माणका लागि जापानले ‘यथार्थवादी दृष्टिकोण’ अपनाउने बताउनुभयो। उहाँले जापानले युद्धपछिदेखि कायम राखेका तीन गैर–आणविक सिद्धान्तप्रति प्रतिबद्ध रहेको पनि दोहोर्याउनुभयो।
यद्यपि ताकाइची नेतृत्वको सरकारले यसै वर्ष नयाँ सुरक्षा तथा रक्षा रणनीति तयार गर्ने तयारी गरिरहेका बेला जापानका परम्परागत गैर–आणविक नीतिमाथि पुनर्विचार हुन सक्ने अड्कलबाजी पनि बढेको छ। विशेष गरी देशभित्र आणविक हतियार ल्याउन अनुमति नदिने तेस्रो सिद्धान्तबारे समीक्षा हुन सक्ने चर्चा भइरहेको छ।
उता, हिरोसिमा र नागासाकीका जीवित पीडितहरूले विश्वभर पुनः बढ्दो आणविक प्रतिरोधको बहसप्रति चिन्ता व्यक्त गरेका छन्। उनीहरूले जापान सरकारले आणविक हतियार निषेधसम्बन्धी सन्धिमा हस्ताक्षर गर्नुपर्ने तथा त्यसका अन्तर्राष्ट्रिय बैठकमा सक्रिय सहभागिता जनाउनुपर्ने माग दोहोर्याए पनि अमेरिकी आणविक सुरक्षा छातामुनि रहेको जापान सरकारले उक्त माग स्वीकार गरेको छैन।
सन् १९४५ अगस्ट ६ मा हिरोसिमामाथि खसालिएको आणविक बमका कारण करिब एक लाख ४० हजार मानिसको ज्यान गएको थियो। त्यसको तीन दिनपछि नागासाकीमा खसालिएको दोस्रो आणविक बमबाट थप करिब ७० हजार मानिसको मृत्यु भएको थियो। त्यसपछि अगस्ट १५ मा जापानले आत्मसमर्पण गरेसँगै दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो।
हाल हिरोसिमा र नागासाकीका जीवित पीडितको सङ्ख्या घटेर ९१ हजार १०५ मा पुगेको छ। उनीहरूको औसत उमेर ८६ वर्षभन्दा बढी रहेको छ। बाँचेकाहरूले आफ्ना अनुभव समयसँगै हराउँदै जाने चिन्ता व्यक्त गर्दै युद्ध र आणविक विनाशको वास्तविकता भावी पुस्तासम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याएका छन्।