मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१२ हात्तीगौँडाका ड्र्यागन फ्रुट किसान बुद्धिबहादुर बोम्जनले बेमौसममा पनि उत्पादन लिन बगैँचामा कृत्रिम बत्ती जडान गर्ने प्रविधि अपनाउनुभएको छ। जाडोयाममा पर्याप्त तापक्रम नहुँदा ड्र्यागन फ्रुटमा फूल नफुल्ने समस्या समाधान गर्न उहाँले कृत्रिम उज्यालोको प्रयोग सुरु गर्नुभएको हो।
सिन बहुद्देश्यीय कृषि फार्म सञ्चालन गर्दै आउनुभएका बोम्जनका अनुसार सामान्यतया मङ्सिरसम्म उत्पादन हुने ड्र्यागन फ्रुट त्यसपछि करिब तीन महिना उत्पादनविहीन हुन्छ। अब भने बेमौसममै उत्पादन गरेर वर्षभरि बजारमा आपूर्ति गर्ने लक्ष्यका साथ बगैँचामा बत्ती जडान गरिएको उहाँले बताउनुभयो।
उहाँले १२ वाट क्षमताका करिब ८०० वटा बत्ती जडान गर्ने योजना बनाएकोमा हालसम्म ४०० वटा जडान गरिसक्नुभएको छ। सामाजिक सञ्जालमार्फत विदेशमा प्रयोग भइरहेको प्रविधिबाट प्रेरित भएर आफूले पनि यो अभ्यास सुरु गरेको उहाँको भनाइ छ। बत्ती जडानपछि करिब डेढ महिनामा, अर्थात् माघको मध्यतिरदेखि बेमौसमी उत्पादन सुरु हुने अपेक्षा गरिएको छ।
कृषि प्राविधिक चन्द्रकान्त चौधरीका अनुसार जाडोमा तापक्रम कम हुँदा ड्र्यागन फ्रुटमा फूल नफुल्ने भएकाले कृत्रिम प्रकाशको प्रयोगले फूल फुलाउन र उत्पादन लिन सहयोग पुग्छ। यद्यपि, बेमौसमी उत्पादनमा फल पाक्न सामान्य अवस्थाभन्दा केही बढी समय लाग्ने अपेक्षा गरिएको छ।
बोम्जनले एक बिघा क्षेत्रफलमा ८५० वटा सिमेन्टका पोलमा ड्र्यागन फ्रुट खेती गर्दै आउनुभएको छ। गत असारमा हेटौँडामा आयोजित ड्र्यागन फ्रुट महोत्सवमा उहाँले करिब ६ लाख रुपैयाँ बराबरको ड्र्यागन फ्रुट बिक्री गरी सहभागी किसानमध्ये सबैभन्दा बढी बिक्री गर्ने किसान बन्नुभएको थियो।
उहाँका अनुसार यस वर्षको पहिलो सिजनमै १२ लाख रुपैयाँ आम्दानी भइसकेको छ। हाल वार्षिक करिब ३० लाख रुपैयाँ आम्दानी भइरहेकोमा बेमौसमी उत्पादन सफल भए वार्षिक आम्दानी ५० लाख रुपैयाँ पुर्याउने लक्ष्य रहेको उहाँले बताउनुभयो।
बगैँचामा बत्ती जडानका लागि हेटौँडा उपमहानगरपालिकाले ७० प्रतिशत अर्थात् २ लाख ७० हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ भने बाँकी लागत फार्म आफैंले व्यहोरेको छ।
छ वर्षदेखि ड्र्यागन फ्रुट खेती गर्दै आउनुभएका बोम्जनले एभोकाडो, मेवा र मकैको समेत व्यावसायिक खेती गर्दै आउनुभएको छ। उहाँका अनुसार सामान्य अवस्थामा फूल फुलेपछि ३०–३५ दिनमै फल टिप्न सकिने भए पनि कृत्रिम प्रकाश प्रयोग गरी उत्पादन गरिएको बेमौसमी फल तयार हुन ४५–५० दिन लाग्ने अपेक्षा गरिएको छ।